अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग फोनमा ‘धेरै राम्रो’ कुराकानी भएको बताएका छन् । दुवै नेताहरूले रूस–युक्रेन युद्ध, फेन्टानिल तस्करी र किसानहरूका लागि गर्न लागिएको एक महत्वपूर्ण सम्झौताबारे छलफल गरेका छन् ।
ट्रम्पले सामाजिक संजाल ‘ट्रुथ सोसल’मा लेख्दै भने, “हामीले हाम्रा किसानहरूका लागि एक राम्रो र अत्यन्तै महत्वपूर्ण सम्झौता गरेका छौँ । यो अझ राम्रो हुँदै जानेछ । चीनसँग हाम्रो सम्बन्ध अत्यन्तै बलियो छ ।”
उनले सीको निमन्त्रणामा अप्रिलमा चीन भ्रमण गर्ने र सीले अर्को वर्षको अन्त्यतिर अमेरिकाको भ्रमण गर्ने जानकारी दिएका छन् ।
चीनले जारी गरेको विज्ञप्तिमा सी चिनफिङले ताइवानलाई दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थाको अविभाज्य हिस्सा भएको बताएका छन् । उनले युक्रेन युद्धमा न्यायपूर्ण र दीर्घकालीन शान्तिको आशा पनि व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
हालै जापानकी प्रधानमन्त्री सानाए ताकिचीले चीनले ताइवानविरुद्ध कुनै कदम चाल्दा जापानी सेनाले हस्तक्षेप गर्न सक्ने टिप्पणी गरेपछि चीन–जापान सम्बन्धमा तनाब बढेको छ ।
सो विषयमा प्रतिक्रिया दिँदै चिनियाँ विदेशमन्त्री वाङ यीले जापानले यस्तो टिप्पणी गरेर ‘रेडलाइन’ पार गरेको आरोप लगाए ।
अमेरिकाले लामो समयदेखि ताइवानको सार्वभौमिकताबारे कुनै निश्चित धारणा नलिए पनि बल प्रयोग गरेर टापुमाथि गरिने कारबाहीको विरोध गर्दै आएको छ ।
ट्रम्प प्रशासनले हालै ताइवानलाई ३३० मिलियन डलरको हतियार बिक्रीका लागि स्वीकृति दिएको थियो, जसको बेइजिङले कडा विरोध जनाएको थियो ।
ट्रम्पका अनुसार, फोन वार्तामा फेन्टानिल, भटमाससहित अन्य कृषि उत्पादनबारे पनि गम्भीर छलफल भउको छ । उनले भने, “हामीले हाम्रा किसानहरूका लागि अत्यन्तै महत्वपूर्ण सम्झौता गरेका छौँ । यो अझ राम्रो हुँदै जानेछ ।”
यद्यपि, चिनियाँ विदेश मन्त्रालयले बुसान बैठकपछि दुई देशको सम्बन्धमा स्थिर र सकारात्मक प्रगति भएको बताए पनि व्यापार वा भटमास खरिदसम्बन्धी कुनै ठोस सम्झौताबारे भने औपचारिकरूपमा केही उल्लेख गरेको छैन ।

प्रतिक्रिया