एनपीएलमा कर्णाली–लुम्बिनी र काठमाडौँ–विराटनगर आमने सामने


सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज ‘सुपर स्याटर्डे’ नामक दोहोरो भिडन्त हुँदैछ । दिनभर दुई महत्वपूर्ण खेल हुने भएकाले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दर्शकको बाक्लो उपस्थिति हुने अपेक्षा गरिएको छ ।

पहिलो खेल : कर्णाली याक्स बनाम लुम्बिनी लायन्स

पहिलो खेल बिहान ११:15 बजेबाट कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्दैछन् ।
कर्णालीले आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग हार बेहोरेको थियो, जबकि लुम्बिनीले चितवनलाई पराजित गर्दै उत्कृष्ट सुरुआत गरिसकेको छ ।

कर्णाली आज प्रतियोगिताको पहिलो जित खोज्दै मैदान उत्रिँदैछ । उता, लुम्बिनी भने लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।
गत संस्करणमा कर्णालीले लुम्बिनीलाई ५ रनले हराएको थियो, जसले आजको खेललाई झन् रोचक बनाएको छ ।

दोस्रो खेल : काठमाडौँ गोर्खाज बनाम विराटनगर किंग्स

दोस्रो खेल अपराह्न ३:३० बजेबाट काठमाडौँ गोर्खाज र विराटनगर किंग्सबीच हुनेछ ।
काठमाडौँले दुई खेलमा एक जित र एक हार हात पारेको छ—पहिलो खेलमा जनकपुर बोल्ट्सलाई हराए पनि दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

विराटनगरले आफ्नो पहिलो खेलमै पोखरा एभेन्जर्समाथि सहज जित निकालिसकेको छ ।
गत सिजनमा काठमाडौँले विराटनगरमाथि १ विकेटको रोमाञ्चक जित निकालेको थियो, जसको पुनरावृत्ति हुने कि विराटनगरले बदला लिन्छ भन्ने उत्सुकता बढेको छ ।

अंक तालिका

हालसम्म सुदूरपश्चिम रोयल्स दुवै खेल जित्दै ४ अंकसहित अग्रस्थानमा छ ।
एक/एक जित हासिल गरेका विराटनगर, लुम्बिनी, चितवन र काठमाडौँ क्रमशः दोस्रोदेखि पाँचौं स्थानमा रहेका छन् ।