ब्राजिलमा जारी कोप-३० आयोजना स्थलमा आगलागी


ब्राजिलको बेलेममा आयोजित संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन कोप–३० आयोजना स्थलमा आगलागी भएको छ । आगलागीपछि बेलम सहरका बासिन्दालाई बाहिर निकालिएको छ ।

संयुक्त राष्ट्र संघका अधिकारीहरुका अनुसार आगो ६ मिनेटमै निभाइएको थियो ।

१३ जना धुवाँको असरका कारण बिरामी परेका छन् । उनीहरुको उपचार भइरहेको बीबीसीले जनाएको छ । संयुक्त राष्ट्रसंघको सम्मेलन आयोजक समितिका अनुसार उनीहरूको स्वास्थ्य अवस्थामाथि निगरानी भइरहेको छ र आवश्यक चिकित्सकीय सहयोग प्रदान गरिएको छ ।

आगलागीका कारण सम्मेलन रोकिएको छ । वार्ताकारहरू जलवायु संकट सामना गर्न अन्तर्राष्ट्रिय प्रयास बलियो बनाउने समझदारी टुंग्याउने तयारी गरिरहेका बेला अवरोध आएको हो ।

आयोजकले भनेको छ, सम्मेलनस्थलको ब्लु जोनमा आगलागी भएको थियो । दमकल र युएन सुरक्षाकर्मीहरू तत्कालै परिचालन भएर आगो करिब ६ मिनेटमै नियन्त्रणमा ल्याइयो । मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकालियो ।’

आगलागीको कारण भने अझै खुलेको छैन । आगलागीको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।