प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको अपेक्षा पूरा गर्न नसकेको आरोप लगाउँदै फिर्ता हुनुपर्ने माग गरेका छन् ।
बिहीबार जेनजी २३ समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त ज्ञापनपत्र बुझाउँदै वर्तमान सरकारलाई फिर्ता बोलाई नयाँ सरकार गठनका लागि मध्यस्थता गर्न आग्रह गरेका हुन् ।
जेनजी समूहका अनुसार भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि बनेको कार्की नेतृत्वको सरकारले आन्दोलनका मूल मुद्दाहरू बेवास्ता गरेको छ। उनीहरूको आरोप छ— सरकार भ्रष्टाचारमा संलग्न उच्च पदस्थ व्यक्तिमाथि निर्णायक कारबाही गर्न असफल भएको छ। त्यस्तै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीको मागलाई सम्बोधन गर्न आवश्यक संवैधानिक संशोधन पनि सरकारले अघि नबढाएको उनीहरूको भनाइ छ।
आन्दोलनमा दमन गर्ने जिम्मेवारमाथि कारबाही, घाइतेहरूको उपचार तथा शहीद परिवारलाई उचित क्षतिपूर्ति दिने न्यूनतम अपेक्षा समेत सरकारले पूरा नगरेको आरोप जेनजी समूहको छ।
समूहले भनेको छ, “विद्रोहको जगमा बनेको सरकारले विद्रोहीहरूको न्यूनतम अपेक्षा पूरा गर्नुको सट्टा सबै माग बेवास्ता गर्दै सरकार केवल निर्वाचन गराउनेतर्फ मात्र उन्मुख देखियो। यो विद्रोह केवल अर्ली इलेक्सनका लागि भएको थिएन।”
उनहरूले सरकारलाई तत्काल विद्रोही पक्षको माग सम्बोधन गर्न चेतावनी दिएका छन्। अन्यथा सरकारविरुद्ध अर्को शान्तिपूर्ण आन्दोलन तथा दबाब कार्यक्रम गर्न बाध्य हुने उनीहरूको चेतावनी छ।
ज्ञापनपत्रमा अन्त्यमा भनिएको छ, “यदि सरकारले माग सम्बोधन गर्न नसक्ने हो भने यो सरकारलाई फिर्ता बोलाई हाम्रो नेतृत्वमा नयाँ सरकार गठनका लागि सम्माननीय राष्ट्रपतिज्यूले आवश्यक मध्यस्थता गरिदिनुहुन अनुरोध गर्दछौं।”

प्रतिक्रिया