नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र चलिरहेको पुनर्गठन बहसमा आफूले उठाउँदै आएको सुधारको एजेन्डा कुनै हालतमा नछाड्ने स्पष्ट संकेत दिएका छन् ।
महाधिवेशन कहिले गर्ने भन्ने विषयमा नेतृत्व तहबीच मतभेद बढिरहेका बेला थापाले ‘अधिवेशनको मिति भन्दा पार्टीको बाटो कता जाँदैछ भन्ने मुख्य प्रश्न’ उठाउनुपर्ने बताउँदै आफ्नो धारणा कडा रूपमा प्रस्तुत गरेका छन् ।
थापाका अनुसार जनताले कांग्रेसलाई दिएको सन्देश अत्यन्त स्पष्ट छ—पुरानै शैली, पुरानै वैचारिक अभ्यास र पुरानै कार्यशैलीले अब पार्टी टिक्न सक्दैन । उनले भने, “सुधार नगरी विश्वास फिर्ता आउँदैन। अहिले बहस अधिवेशनको समय होइन, पार्टीको दिशाबारे हो।”
कांग्रेसको जारी केन्द्रीय समिति बैठक कहिले निष्कर्षमा पुग्ने भन्ने यकिन नभए पनि थापाले पार्टी कार्यकर्तालाई धैर्य र आश्वस्त रहन आग्रह गरेका छन्। उनले पार्टीलाई अझै बलियो बनाउन सत्य र सुधारको पक्षमा उभिनुपर्ने बताएका छन् ।
उनका शब्दमा, “चुनावमा हामी जानेछौँ तर नयाँ ऊर्जा र सुधारिएको कांग्रेसका साथ। सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, बलियो बन्छ। हामी न झुक्छौँ, न झुकिन्छौँ।”
यतिबेला संस्थापन पक्षले महाधिवेशन चुनावपछि—वैशाखमा—गर्नुपर्ने धारणा अगाडि सार्दै आएको छ। तर थापाले भने अहिलेको अवस्थामा पार्टीले जनतासमक्ष भोट माग्न जाने वातावरण नै नरहेको भन्दै आवश्यकता परे विशेष महाधिवेशनमार्फत नेतृत्व पुनर्गठन गर्नुपर्नेमा जोड दिएका छन् ।
थापाको कडा अडानसँगै कांग्रेसभित्रको सुधार बहस झनै तीव्र बनेको छ। आगामी निर्णयले पार्टीको दिशा र भविष्य दुवै निर्धारण गर्ने देखिन्छ ।

प्रतिक्रिया