सहकारी ठगी गर्नेलाई नछोड्ने: अधिकारी

साझा प्रेस
0
Shares

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले सहकारी ठगी गर्ने कसैलाई पनि नछाड्ने बताएका छन्।

आज विराटनगरमा प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै नेता अधिकारीले पछिल्लो समयमा सहकारीमा देखिएको विकृतिलाई अन्त्य गरी साना तथा थोरै लगानीका पुजीहरूको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने ,’यस्तो अवस्थामा सहकारीको रकम दुरुपयोग गर्ने कसैलाई पनि छाडिने छैन उनीहरुलाई कारबाही गरिन्छ।’

अहिलेको राजनीतिक निकासका लागि संसद पुनर्स्थापना महत्वपूर्ण भएको उनको भनाइ थियो । संसद पुनर्स्थापना छोटो समय गरेर त्यस मार्फत संविधान संशोधन गरी बाहिरको मानिसलाई पनि प्रधानमन्त्री बनाउने व्यवस्था गर्ने र त्यसको आधारमा र राजनीतिक दलले स्वीकार गर्ने व्यक्तिको नाममा सहमति गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा राखे।

संविधान र लोकतन्त्रलाई लिकमा ल्याएर अगाडि बढ्नका लागि पनि संसद पुनर्स्थापना महत्वपूर्ण भएको उनले दाबी गरे । अहिलेको सरकार केही समयमै ढल्ने ठोकुवा गर्दै उनले भने ‘यस्तै हो भने एक एक डेढ महिनामा नि सरकार ढल्छ ।’

उनले अहिलेको सरकार राजा ज्ञानेन्द्रले गरेको चुनाव जस्तो गर्न मात्रै सक्ने खालको भएको बताए। राजा ज्ञानेन्द्रले पनि सत्ता हातमा लिएर एउटा चुनावको नाटक गरेका थिए त्यसको केही अर्थ भएन के अहिलेको सरकारले त्यस्तै चुनाव गर्न चाहेको हो ? उनको प्रश्न थियो ।