नेकपा एमालेले आफ्नो ११औं महाधिवेशन स्थल परिवर्तन गरेको छ। यसअघि पोखरामा गर्ने भनिएको महाधिवेशन अब काठमाडौंमा हुने भएको हो। शनिबार गुण्डुमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
ज्ञवालीका अनुसार पार्टीले मंसिर १३ गते देशभर एकैपटक महाधिवेशन प्रतिनिधि चयन गर्ने तयारी गरेको छ। प्रतिनिधि चयनको मापदण्ड पनि बैठकले तय गरेको छ। प्रत्येक १२०० संगठित सदस्यबाट एक जना प्रतिनिधि चयन गरिनेछ। प्रतिनिधिमध्ये एक तिहाइ महिला हुने व्यवस्था गरिएको छ भने ४० वर्षभन्दा कम उमेरका युवालाई पनि आरक्षणको व्यवस्था गरिएको छ। प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधि अनिवार्य हुने व्यवस्था गरिएको छ।
एमालेका ६ लाख ६७ हजार ६३० संगठित सदस्यहरूबाट करिब २१०० प्रतिनिधि चयन हुनेछन्। प्रदेश, जिल्ला, जनसङ्गठन, ट्रेड युनियन, प्रवास र केन्द्रीय विभागहरूका कोटाबाट प्रतिनिधि पठाइने व्यवस्था छ। ज्ञवालीका अनुसार प्रदेशबाट ४५, प्रतिनिधिसभा क्षेत्रबाट करिब ९७०, दलित कोटाबाट ८१, ट्रेड युनियनबाट ४९, प्रवासबाट ३०, केन्द्रीय विभाग र कार्यालयबाट ३३, र जनसङ्गठनबाट १२७ जना प्रतिनिधि रहने छन्।
यसरी चयन गरिएका प्रतिनिधिहरूमध्ये ५ प्रतिशत प्रतिनिधि मनोनयनमार्फत चयन गरिनेछ।
त्यस्तै, पार्टीले महाधिवेशनअघि जनपरिचालनका कार्यक्रमहरू पनि तय गरेको छ। मंसिर ६ गते काठमाडौंमा विशाल जनसभा आयोजना गरिनेछ। साथै, कात्तिक २२ गते देशभरका सबै वडामा जनभेला, कात्तिक २५ गते पालिकास्तरमा प्रदर्शन, र कात्तिक २९ गते विभिन्न ठाउँमा जनसभा गर्ने कार्यक्रम तय गरिएको छ।
उपमहासचिव ज्ञवालीका अनुसार यी सबै कार्यक्रमहरू पार्टीको आगामी महाधिवेशनलाई सफल बनाउन र जनसंपर्क अभिवृद्धि गर्ने रणनीतिअन्तर्गत सञ्चालन गर्न लागिएको हो ।


प्रतिक्रिया