मिथिलाञ्चलको महान पर्व छठ आजदेखि औपचारिक रूपमा सुरु भएको छ । चार दिनसम्म मनाइने यो पर्वका अवसरमा जनकपुरधामलगायत मिथिलाका विभिन्न स्थानका घाटहरूमा सजावट र तयारीको अन्तिम चरणमा पुगेका छन् ।
जनकपुरधामस्थित गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुषसागर र मटकोरर्वा पोखरीमा अहिले रंगीन बत्ती, पण्डाल र फूलमालाले सिँगार्ने काम भइरहेको छ ।
गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताका अनुसार यो वर्ष विगतका तुलनामा अझ राम्रो व्यवस्थापन गरिएको छ ।
“यसपटक घाटको आधा भागमा सजावटको काम भइरहेको छ। सरसफाइदेखि अघ्र्य दिने स्थानसम्म सबैतिर व्यवस्था मिलाइएको छ,” गुप्ताले भने ।
उनका अनुसार यस वर्ष प्रति अघ्र्य रु ६०० निर्धारण गरिएको छ । “सबैले दिँदैनन्, धेरैले श्रद्धापूर्वक अघ्र्य राख्छन् । भक्तजनबाट आएको रकमले घाट व्यवस्थापनको खर्च पूरा हुन्छ,” उनले बताए ।
गङ्गासागरमा अहिले पण्डाल लगाउने काम अन्तिम चरणमा पुगेको छ भने झिलिमिली बत्तीहरू टाँग्ने काम भइरहेको छ। सो घाटमा तीनवटा छुट्टाछुट्टै समितिले तयारीमा जुटेका छन् ।
शान्ति सुरक्षाको व्यवस्थाका लागि प्रहरीले पनि तयारी बढाएको छ । अरगजासरमा यसपटक पाँच हजारभन्दा बढी अघ्र्य रहने अनुमान गरिएको छ ।
मिथिलाञ्चलमा मनाइने छठ पूर्ण रूपमा घरेलु उत्पादनमा निर्भर हुने परम्परा छ । भक्तजनले आफ्नै खेतबारीको गहुँ, चामल, तरकारी प्रयोग गरी घरमै तयार गरेको पिठोबाट पकवान बनाउने गर्छन् ।
छठ पर्व नजिकिँदै गर्दा जनकपुरधामको बजारमा माटो र बाँसका सामग्रीको बिक्री बढेको छ । बजारमा घैँटो, हात्ती, छिट्टी (टोकरी), नाङ्लो, कनसुपतीलगायत सामान किन्न मानिसहरूको भीड लागेको छ । यी सामग्रीहरूलाई शुद्ध र शुभ मानिने भएकाले यसको माग बढेको व्यापारीहरूले बताएका छन् ।
चारदिन लामो यस पर्वअन्तर्गत आज पहिलो दिन ‘नहाय–खाए’, आइतबार ‘खरना’, सोमबार अस्ताउँदो सूर्यलाई अघ्र्य र मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर पर्वको समापन गरिन्छ ।

प्रतिक्रिया