थुलुङ दुधकोशी अस्पताल मा उत्कृष्ट कर्मचारी र बिरामी सम्मानित

साझा प्रेस
100
Shares

थुलुङ दुधकोशी गाउँपालिका–७ मुक्लीस्थित थुलुङ दुधकोशी अस्पतालले शुक्रबार तेस्रो वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाएको छ ।

गाउँपालिका अध्यक्ष तथा अस्पताल सञ्चालक समितिका अध्यक्ष असिम राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट कर्मचारी र बिरामीलाई सम्मान गरिएको थियो ।कार्यक्रममा नर्सिङतर्फ सिर्जना राई र समिना गुरुङ, प्याथोलोजीतर्फ विशाल भण्डारी र कार्यालय सहयोगी सन्जु विश्वकर्मालाई उत्कृष्ट कर्मचारीका रूपमा नगद पाँच हजारसहित सम्मानपत्र प्रदान गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

सो अवसरमा अस्पतालबाट पहिलो पटक शल्यक्रिया सेवा लिने रितुकला राईलाई नगद तीन हजारसहित सम्मान गरिएको थियो । त्यस्तै एपेन्डिसाईटिस शल्यक्रिया सेवा लिने जुबुका सुनिल राई र आगलागीमा घाइते रामबहादुर गुरुङलाई मायाको चिनो प्रदान गरिएको थियो । अस्पताल संयोजक कोपिला श्रेष्ठका अनुसार वार्षिकोत्सवको अवसरमा अस्पतालमा उपचाररत ११ जना बिरामीलाई पौष्टिक आहार र फलफुल वितरण गरिएको थियो ।

कार्यक्रममा घाइते रामबहादुर गुरुङले “अस्पतालका चिकित्सकहरूको दक्षता देखेर बाहिर उपचारका लागि जान नपरेकोमा खुसी लागेको” बताउँदै धन्यवाद व्यक्त गरे । त्यस्तै अस्पतालमार्फत पहिलो शल्यक्रिया गरेर आमा बनेकी रितुकला राईले “मुक्लीमा अस्पताल नभएको भए लाखौं खर्च गरेर बाहिर जानुपर्ने बाध्यता हटेको” बताउँदै सञ्चालक र चिकित्सक टोलीप्रति आभार व्यक्त गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष असिम राईले अस्पताल स्थापनादेखि हालसम्मका चुनौती र उपलब्धिहरू स्मरण गर्दै स्थानीयको साथ र सहयोगप्रति धन्यवाद व्यक्त गरे । अध्यक्ष राईले अस्पताललाई अझ सुदृढ, गुणस्तरीय र सेवामुखी बनाउन सबै पक्षको निरन्तर सहयोग आवश्यक रहेको बताए ।

हाल अस्पतालमा प्रशुति सेवा, एपेन्डिक्स, थाइरोइड, हाइड्रोसिललगायतका शल्यक्रिया सेवा सहज रूपमा उपलब्ध छन् । साथै सामान्य प्रसूति, आकस्मिक उपचार र अन्य आधारभूत स्वास्थ्य सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेको एमडीजीपी डा. निराजन पराजुलीले जानकारी दिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सविता राई, वडा अध्यक्ष महेन्द्र दीप राई र भोजराज कार्की लगायतको उपस्थिति रहेको थियो ।

स्थानीयले छोटो अवधिमै अस्पतालले उपलब्ध गराएको गुणस्तरीय स्वास्थ्य सेवाप्रति सन्तुष्टि व्यक्त गरेका छन् ।