इडब्लुभिएलको लिग चरणबाट दुई टिम बाहिरियो

साझा प्रेस
50
Shares

वात्सल्य एभरेष्ट महिला भलिबल लिग चरणबाट टिम बाहिरे क्रमको शुरुवात भएको छ । काठमाण्डौ स्पाईकर्सको लगातार तेश्रो जितसँगै मधेस युनाईटेड र गण्डकी थन्डर्स प्रतियोगिताको लिग चरणबाट नै बाहिरिएको हो ।

बिहिवार भएको खेलमा काठमाण्डौले मधेसलाई ३–१ को सेटमा पराजित गर्दै गर्दा मधेश १ खेल र गण्डकी २ खेल खेल्न अगावै बाहिरिएका हुन् । जितसँगै काठमाण्डौले भने फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

राष्ट्रिय टोलीकी सदस्य निरुता ठगुन्ना मार्की समावेश मधेश युनाईटेडले सबै ४ खेलमा हार बेहोर्न पुग्यो । उता गण्डकीले बाँकी दुवै खेलमा जित हात पारेपनि शीर्ष दुईमा रहने टोलीको अंकलाई भेट्टाउन नसक्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

गण्डकीको ३ खेलबाट १ अंक छ । बाँकी दुवै खेल जित्दा गण्डकीको ७ अंक मात्रै पुग्नेछ । यसअघि नै कर्णाली यस्विसको ३ खेलबाट ८ अंक छ । काठमाडौंको ४ खेलबाट ९ अंक पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा यो समाचार तयार पर्दा दोस्रो खेलमा कर्णाली यस्विस र चितवन शक्ति बिच खेल भईरहेको छ भने बिहिवार नै तेस्रो खेलमा ललितपुर क्वीन्स र गण्डकीबीच प्रतिस्पर्धा हुँदैछ । कर्णाली र चितवनलाई फाइनलमा स्थान बनाउन यो खेल निकै महत्वपुर्ण छ ।

नेपाली भलिबल इतिहासमै खेलाडी वर्गिकरणसहित पहिलोपटक भइरहेकेको इडब्लुभिएलमा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । लिगपछि शीर्ष दुईमा रहने टोलीले फाइनलमा स्थान बनाउनेछन् । फाइनल शनिवार हुनेछ ।