नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज (शुक्रबार) बिहान ११ बजे भक्तपुरको गुण्डुमा बस्ने भएको छ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आन्तरिक व्यवस्थापनका विषय, ‘जेन-जी’ आन्दोलनपछि उत्पन्न राजनीतिक अवस्था, र आसन्न केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने एजेण्डा रहनेछ।
यसअघि असोज १९ र २० गतेका लागि तय गरिएको सचिवालय बैठक अविरल वर्षाका कारण स्थगित भएको थियो।
आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेश, जिल्ला र प्रवास कमिटीका अध्यक्षहरूसँग हालै सम्पन्न भर्चुअल बैठकबारे जानकारी दिनेछन्। साथै, वर्तमान सरकारले लिन सक्ने राजनीतिक कदम, सम्भावित निर्वाचनको परिदृश्य लगायत विषयमा पनि छलफल हुने एमाले स्रोतले जनाएको छ।
पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार केन्द्रीय कमिटी बैठकको मिति केही पर सारिएको छ। असोज २७ गतेदेखि सुरु गर्ने तयारी गरिएको बैठक अब असोज २९ देखि ३१ गतेसम्म बस्ने भएको हो।
उनका अनुसार हाल च्यासलस्थित केन्द्रीय कार्यालयमा ‘जेन-जी’ आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण बैठक स्थल अहिलेसम्म निश्चित हुन सकेको छैन।

प्रतिक्रिया