बीपी राजमार्ग आजबाट एकतर्फी सञ्चालनमा आउँदै

File Photo

असोज १७, १८ र १९ गते लगातार परेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बीपी राजमार्ग आज साँझसम्म अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ।

सडक विभागका सुपरिटेण्डेण्ट इञ्जिनियर शुभराज न्यौपानेका अनुसार बाढीले सडक बगाएको स्थानमा डाइभर्सन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। “चौकीडाँडा र नेपालथोकका ठूला डाइभर्सनहरू तयार भइसकेका छन्, बाँकी साना क्षतिग्रस्त स्थानहरूमा पनि काम तीव्र रूपमा भइरहेको छ,” उनले भने।

न्यौपानेका अनुसार आज साँझ वा अधिकतम पर्सि बिहानदेखि एकतर्फी सवारी सञ्चालन सम्भव हुने छ। अहिले निर्माण टोलीले रोशी खोलाको पानीलाई बगाएको भागबाट डाइभर्ट गरी माटो र ढुंगामाटोले सडक पुनःस्थापना गरिरहेको छ।

तीन दिनअघिको बाढीले काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मका विभिन्न स्थानमा सडक भत्काएको थियो। अहिले दुवैतर्फबाट निर्माण टोली परिचालन गरिएकाले राजमार्ग चाँडै सुचारु हुने विभागले जनाएको छ।