कांग्रेस पदाधिकारीको अनौपचारिक कूटनीति बैठक

शेरबहादुर देउवा बिना नै बैठक सञ्चालन हुने

साझा प्रेस
100
Shares

नेपाली कांग्रेसमा आगामी केन्द्रीय समिति बैठक र महाधिवेशन तयारीलाई लिएर पदाधिकारीबीच ‘अनौपचारिक कूटनीति’ सुरु भएको छ। आज दिउँसो १ बजे कुपण्डोलस्थित एक होटलमा बस्ने पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा बिना नै सञ्चालन हुने भएको छ।

पार्टीभित्र एजेन्डा टुंग्याउने तयारीका रूपमा रहेको यो बैठकमा देउवा अनुपस्थित रहने पुष्टि मुख्य सचिव कृष्णप्रसाद पौडेलले गरेका छन्। उनले स्वास्थ्य कारण देउवा बैठकमा नजाने जानकारी दिए। तर देउवाका स्वकीय सचिव भानु देउवाले भने बैठक पूर्ण रूपमा अनौपचारिक भएकाले सभापति सहभागी नहुने स्पष्ट पारे।

देउवा उपस्थित नहुने भएपछि उपसभापति पूर्णबहादुर खड्का बैठकको नेतृत्व गर्नेछन्। पार्टी स्रोतका अनुसार बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समिति बैठकका एजेन्डा, महाधिवेशनको समयतालिका, संगठन विस्तार र आगामी आन्तरिक निर्वाचनबारे छलफल हुने छ।

देउवा निकट नेताहरूका अनुसार सभापतिको अनुपस्थितिमा खड्का नेतृत्वको यो छलफल ‘पार्टीभित्र सन्तुलन कायम गर्ने कूटनीतिक प्रयास’ पनि हो। हाल कांग्रेसभित्र महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व समिकरण र एजेन्डा सेटिङको विषयमा आन्तरिक सल्लाह–सुझाव तीव्र बन्दै गएको छ।

कांग्रेस स्रोतका अनुसार अनौपचारिक बैठकलाई औपचारिक निर्णयको पूर्वतयारीका रूपमा पनि हेरिएको छ।