जेन-जी समूहको धम्कीपछि आज बिहानैदेखि राजधानीका संवेदनशील क्षेत्रहरूमा प्रहरीले उच्च सतर्कता अपनाएको छ ।
बिहान ७ बजेदेखि नै प्रधानमन्त्री निवास बालुवाटार, टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका क्षेत्रमा प्रहरीको विशेष कमाण्डो टोली परिचालन गरिएको हो । प्रहरी स्रोतका अनुसार ती क्षेत्रमा ‘छानिएका’ प्रहरी अधिकृतहरूलाई विशेष रूपमा बोलाएर खटाइएको छ ।
भिड जम्मा हुने वा सुरक्षालाई चुनौती दिने गतिविधि भएमा तत्काल चेतावनीदेखि बल प्रयोगसम्मका उपाय अपनाइने बताइएको छ । सोमबार राति प्रधानमन्त्री निवासमा गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा नेपाल प्रहरीका महानिरीक्षक (आईजी) चन्द्रकुवेर खापुङले जेन-जी समूहले कार्यालयमै आएर दिएको धम्कीप्रति आपत्ति जनाएका थिए।
प्रधानमन्त्री सुशीला कार्कीले पनि प्रहरीको मनोबल खस्किने कुनै पनि गतिविधि जायज नभएको बताउँदै सुरक्षालाई प्राथमिकता दिन निर्देशन दिएकी थिइन् । सुरक्षा स्रोतका अनुसार, प्रधानमन्त्रीको निर्देशनबमोजिम आज बिहानैदेखि दुई मुख्य स्थानमा कमाण्डो टोली परिचालन गरिएको हो । ती टोलीलाई भिड नियन्त्रणदेखि बल प्रयोग गर्नेसम्मको अधिकार दिइएको छ।
उता, जेन-जी समूहका सुधन गुरुङ नेतृत्वको टोलीले हिजो पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न प्रहरीमा पुगेको थियो । तर, प्रहरीले भदौ २३–२४ को घटनाबारे जाँचबुझ आयोगले काम गरिरहेको भन्दै जाहेरी लिन अस्वीकार गरेको थियो। जाहेरी नलिएपछि सुधनको टोलीले ‘सडकबाटै देखाइदिन्छौं’ भन्दै चेतावनी दिएको थियो ।
यसैबीच, सुरक्षा संवेदनशीलता बढेपछि काठमाडौं उपत्यका प्रहरी परिसरले हिजो साँझ नै प्रहरी बिटका सबै टोलीलाई फिर्ता बोलाएर विशेष तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया