प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पहिलो चरणमा तीन मन्त्रीको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार अर्थ मन्त्रालयमा पूर्वसचिव रामेश्वर खनाल, गृहमन्त्रालयमा कानुन व्यवसायी ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई जिम्मेवारी दिने निर्णय भएको हो ।
गृहमन्त्रीका रूपमा जिम्मेवारी पाउने अर्यालले कानुन मन्त्रालयको समेत नेतृत्व गर्ने स्रोतले जनाएको छ ।
‘यो प्रारम्भिक सूची मात्र हो । मन्त्रीहरूले थप मन्त्रालयको पनि जिम्मेवारी पाउन सक्नेछन्,’ बालुवाटार स्रोतले भन्यो, ‘उनीहरूको पत्र तयार भइसकेको छ र शपथ ग्रहण भोलि बिहान हुनेछ ।’
रामेश्वर खनाल हालै आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रूपमा सरकारलाई प्रतिवेदन बुझाएका थिए । उनी अनुभवी पूर्वसचिवका रूपमा परिचित छन् ।
ओमप्रकाश अर्याल कानुन व्यवसायी हुन् । विभिन्न रिट निवेदन र सामाजिक आन्दोलनका कारण चर्चामा रहेका उनले पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का कानुनी सल्लाहकारका रूपमा काम गरेका थिए ।
कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकका रूपमा लोकप्रिय बनेका थिए ।
यससँगै प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार औपचारिक रुपमा भोलि शपथ ग्रहणसँगै सुरु हुने भएको छ ।
प्रतिक्रिया