ललितपुरको गोदावरीस्थित सनराइज हलमा आजदेखि नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन सुरु हुँदैछ ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने यस महाधिवेशनलाई एमालेले “निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, सुखी नेपाली समृद्ध नेपाली हाम्रो गन्तव्य” भन्ने नारामा अघि बढाइरहेको छ ।
महाधिवेशनमा २ हजार ३ सय ४१ जना सहभागी हुनेछन्, जसमा २ हजार २६ जना प्रतिनिधि र आयोजकको हैसियतमा ३१५ जना रहने पार्टीले जनाएको छ ।
तर यस महाधिवेशनको विशेषता केवल संख्यामा मात्र होइन— व्यवस्थापन शैली र सांस्कृतिक झलकमै पनि देखिएको छ । उद्घाटन सत्रदेखि नै प्रविधिमैत्री बनाइएको महाधिवेशनमा सहभागी प्रतिनिधिहरू डिजिटल बुथमार्फत स्क्यान गरी चारवटा डिजिटल ढोकाबाट हल प्रवेश गर्नेछन् ।

महाधिवेशन स्थललाई आकर्षक बनाउन १० किलोमिटर क्षेत्रभर १८ वटा स्वागतद्वार निर्माण गरिएको छ भने हल भित्र प्रविधि र संस्कृतिको मिश्रण देखिनेछ । हल प्रवेश गर्दा प्रधानमन्त्री ओलीको पूर्णकद तस्बिर, पुष्पलाल, मनमोहन अधिकारी र जननेता मदन भण्डारीसँगै कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स र लेनिनका तस्बिरसमेत राखिएका छन् । यससँगै हल बाहिर विभिन्न जातजातिका झाँकी निरन्तर प्रर्दशन हुने र भित्रका प्रतिनिधिहरुले डिजिटल बोर्डमार्फत हेर्ने व्यवस्था गरिएको छ ।

पानी फोहोरामा सेता हाँसको जोडी, भित्तामा लोगो र नाराले सजाइएको स्थललाई उत्सवमय बनाइएको छ ।
उद्घाटन सत्र करिब १२ मिनेटमै सक्ने तयारी भए पनि त्यसपछि अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको प्रतिवेदनलगायत विभिन्न आयोगका प्रतिवेदन पेश गरिने कार्यक्रम आजै हुनेछ ।


भोलि प्रतिनिधिहरुले नौ समूहमा छलफल गर्ने र पर्सि समूह प्रतिवेदन प्रस्तुतसँगै अध्यक्ष ओलीले सम्बोधन गरेर महाधिवेशन समापन गर्ने कार्यक्रम रहेको छ ।
एमालेले २०७८ सालमा पहिलो विधान महाधिवेशन पनि यही सनराइज हलमै आयोजना गरेको थियो ।

प्रतिक्रिया