नेपाली लोकसंगीतकी चर्चित स्वरकन्या इन्दिरा गोले गुरुङको निधन भएको छ।
बुधबार बिहान करिब २ बजे ललितपुरको हात्तीवनस्थित आफ्नै निवासमा उनले अन्तिम श्वास लिएकी हुन्। दुई वर्षदेखि क्यान्सरसँग जुधिरहेकी गोले पछिल्लो समय अपार्टमेन्टमै उपचार र आराम गरिरहेकी थिइन्।
सन् १९६६ अक्टोबर १९ मा ललितपुरको भर्देउमा जन्मिएकी गोलेले चार दशकभन्दा लामो गायन यात्रामा करिब पाँच हजार गीतमा स्वर दिएकी छन्। नेपाली लोक, आधुनिक, दोहोरी र तामाङ सेलोमा उनी समान रूपमा सक्रिय रहिन्। ‘चाँगुनारायण थान’, ‘जाइफूलको बासना’, ‘घर त छाउनीमा’, ‘सफा ट्याम्पुरी’, ‘गाङ ग्याब्से ला’ जस्ता गीतहरूले उनलाई नेपाली संगीतमा विशिष्ट स्थान दिलाएका छन्।
रेडियो नेपालमा स्वर परीक्षा पास गरेर गायन सुरु गरेकी उनले तामाङ गीतसंगीतलाई विश्वभर परिचित बनाउन महत्वपूर्ण योगदान पुर्याइन्। तामाङ कलाकार समाजकी पूर्वअध्यक्षसमेत रहेकी उनले दर्जनौँ नयाँ पुस्तालाई संगीत यात्रामा प्रोत्साहन दिएकी थिइन्।
स्वर्गीय गोलेको श्रीमानको केही वर्षअघि निधन भएको थियो। उनी हाल दुई छोरीसहित हात्तीवनमा बस्दै आएकी थिइन्। बौद्ध संस्कारअनुसार अन्त्येष्टि गर्ने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ।
प्रतिक्रिया