देउसामा ५ सय बढीले राष्ट्रिय परिचयपत्र पाए

साझा प्रेस
50
Shares

थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा सञ्चालन गरिएको राष्ट्रिय परिचयपत्र वितरण शिविरमा ५ सयभन्दा बढी स्थानीयले सेवा लिएका छन् ।

वडा कार्यालय परिसरमै दुई दिनसम्म चलेको शिविरमार्फत ५ सय ४८ जनाले सेवा लिएको वडा अध्यक्ष एवम् गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत वितरण हुँदै आएको राष्ट्रिय परिचयपत्र पछिल्लो समय गाउँपालिकाबाटै वितरण भइरहेको छ । गाउँपालिका केन्द्रसम्म पुग्न वृद्धवृद्धा तथा अशक्तलाई कठिनाइ हुने भएकाले वडाको पहलमा वडा कार्यालयमै शिविर सञ्चालन गरिएको जनाइएको छ ।

स्थानीय बासिन्दाले गाउँपालिका सेवा प्रवाहमा जिम्मेवार बनेर काम गरिरहेको भन्दै प्रसंसा गरेका छन् । वडामै सहज रूपमा सेवा पाउँदा खुशी व्यक्त गर्दै उनीहरूले स्थानीय सरकारप्रति धन्यवाद व्यक्त गरेका छन् ।