कोशी प्रदेश सरकारले साना तथा मझौला व्यवसायको प्रवर्द्धन र उद्यमशीलताको विकासका लागि स्विस सरकारको सहयोगमा ‘उदय’ परियोजना सुरु गरेको छ।
यस परियोजनाबाट प्रदेशमा रोजगारी सिर्जनासहित आर्थिक समृद्धिको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको छ। ‘उदय’ परियोजनाअन्तर्गत स्वीकृत सेवा प्रदायकमार्फत व्यवसाय विकास सेवा उपलब्ध गराइनेछ । ६० करोडको ग्यारेन्टी फन्डमार्फत ८ अर्ब बराबरको कर्जा सुरक्षा गरिने र २८ करोडको च्यालेञ्ज फन्डमार्फत प्रवर्द्धनात्मक तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।
यसबाहेक इनफर्मेशन पोर्टलमार्फत बजारसम्बन्धी सूचना उपलब्ध गराउने व्यवस्था पनि परियोजनाले गर्नेछ। परियोजनाअन्तर्गत बिना धितो ३० लाखदेखि ३ करोडसम्मको कर्जा उपलब्ध गराइने र त्यसका लागि बैंक छनोटको प्रक्रिया अघि बढाइएको छ।
कोशी प्रदेश सरकारका अनुसार, उदय परियोजनाले प्रदेशमा उद्यमशीलताको विकाससँगै ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने र आर्थिक आधारलाई मजबुत पार्ने लक्ष्य लिएको छ। परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि कार्यविधि तयार भइसकेको र अब कार्यान्वयन चरणमा प्रवेश गरेको । यो परियोजनालाई प्रदेश सरकारले प्रदेशका १४ वटा जिल्लामा पुर्याउने लक्ष्य राखेको छ।
पहाडी क्षेत्रको बसाइसराइलाई मध्यनजर गरेर त्यहाँ सञ्चालन रहेका साना तथा मजौला उद्योगलाई प्रवर्धन गर्ने र नयाँ उद्योगहरू स्थापनाका लागि प्रोत्साहन गर्ने नीति कोशी प्रदेश सरकारले लिएको छ। यो परियोजना अन्तर्गत कोशी प्रदेश सरकारको क्रेडिट ग्यारेन्टीमा झण्डै ८ अरब रुपैयाँ लगानी परिचालन हुनेछ।
पहिलो चरणमा चार वर्षसम्म सञ्चालन हुने यो परियोजनाबाट कोशी प्रदेशमा ३ हजार रोजगारी सिर्जना हुनेछ। परियोजनाका व्यवसाय विकास प्रमुख विष्णु काफ्लेले यो परियोजनाको प्रोजेक्ट १० वर्षसम्म सञ्चालन गर्ने गरी तयार गरिएको बताए।
प्रतिक्रिया