नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कनबाट संविधानले कतै रोकेकौ छैन भन्दै एमाले नेतृत्वमाथि आरोप लगाएका छन् ।
बिहीबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भण्डारीलाई एमालेकै अध्यक्ष केपी शर्मा ओलीको सहमतिमा पार्टी सदस्यता दिइएको तर चीन भ्रमणपछि अचानक विवाद निकालिएको बताए ।
उनका अनुसार, “विद्याजीलाई सदस्यता दिने निर्णय ओलीजीकै सहमतिमा भएको थियो । चीन भ्रमण पनि ओलीकै सहमतिमा भएको हो । तर फर्किएपछि के भयो, त्यो म भन्न चाहन्नँ ।”
प्रचण्डले विद्यालाई पार्टीमा फर्कन बाटो आफूले नै खोलेको पनि दाबी गरे । उनले भने, “मैले उपराष्ट्रपति नन्दबहादुर पुनलाई सक्रिय राजनीतिमा ल्याएपछि विद्याजीलाई पनि बाटो खुलेको हो ।”
संविधान र ऐन–कानूनले पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिलाई राजनीतिमा सहभागी हुन निषेध नगरेको भन्दै उनले एमालेको आन्तरिक निर्णयलाई मात्र समस्या ठहराए ।
उनले उदाहरण दिँदै भने, “दुनियाभरमा राष्ट्रपति भएपछि प्रधानमन्त्री, प्रधानमन्त्री भएर फेरि राष्ट्रपति हुने धेरै उदाहरण छन् । कतिपय राष्ट्रपति फेरि स्थानीय तहका मेयरसम्म भएका छन् ।”
भण्डारीलाई एमालेले पार्टी सदस्यता नवीकरण गर्न अस्वीकार गरेपछि उनको आगामी योजना (प्लान बी) के हुन्छ भन्ने प्रश्नमा भने प्रचण्डले अनभिज्ञता प्रकट गरे ।
हालको सत्ता गठबन्धनप्रति जनतामा आक्रोश र असन्तुष्टि बढिरहेको भन्दै प्रचण्डले देशको राजनीति अझै परिवर्तनशील हुने संकेतसमेत दिए ।
प्रतिक्रिया