योग्य र सक्षम व्यक्तिलाई उमेरको हद लगाएर बन्धेज गर्न मिल्दैन :भानुभक्त ढकाल

साझा प्रेस
50
Shares

नेकपा एमालेका स्थायी कमिटीका सदस्य एवं जनसंगठन समन्वयका प्रमुख भानुभक्त ढकालले योग्य र सक्षम व्यक्तिलाई उमेरको हद लगाएर नेतृत्वमा बन्धेज गर्न नहुने बताएका छन् ।

अनेराववियु महिला विभागको आयोजना भएको तिज विशेष कार्यक्रममा बोल्दै ढकालले भदौको १९ गते देखि हुने पार्टीको दोस्रो विधान महाधिवेशनले यस विषयमा टुंगो लगाउने बताए । ‘साउन ६ गते सकिएको केन्द्रीय कमिटीले पार्टीमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाएको छ’ ढकालले भने ‘यी दुवै विषयलाई विधान महाधिवेशन अनुमोदन गर्दछ ।’

ढकालले देशको आवश्यकता,पार्टीको आवश्यकता र व्यक्तिको क्षमतालाई उमेरको बन्धेज लगाएर रोक्नु नहुने बताए ।

ढकालले अनेरास्ववियु संगठनका विषयमा निर्णय गर्न स्वतन्त्र भएको स्पष्ट पारे । अखिलमा ३२ वर्षे उमेरको हद लगाएको कारण युवाहरुको नेतृत्व विकासका लागि भएको उनको भनाई थियो । ‘संगठनको हित हुने कुरा तपाइंहरुले छलफल गर्नुहोस । कतिपय कुरा हामीले भनेका भन्दा तपाईंह्रुले भनेकै सान्दर्भिक हुन सक्छन्’ ढकालले भने ‘यस्ता जायज कुरामा पार्टीले हस्तक्षेप गर्दैन । ’