उत्कृष्ट स्थानीय तहलाई संघीय सरकारले सम्मान गर्ने

साझा प्रेस
50
Shares

संघीय सरकारले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) मा उत्कृष्ट नतिजा ल्याउने छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यही भदौ ६ गते आयोजना हुने कार्यक्रममा उत्कृष्ट स्थानीय तह घोषणा गर्दै सम्मान गरिनेछ। मन्त्रालयका अनुसार गाउँपालिका/नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धीको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धाको भावना जगाउने उद्देश्यले लिसा कार्यान्वयन हुँदै आएको छ।

गुणस्तर परीक्षण सम्पन्न भएपछि कायम भएको स्वमूल्यांकनको अन्तिम नतिजा सार्वजनिक गर्दै राष्ट्रिय स्तरमा उच्चतम अंक हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई सम्मान गरिने मन्त्रालयले जनाएको छ।

उक्त आधारमा सम्मान पाउने स्थानीय तहमा चितवनको खैरहनी नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिका, स्याङजाको अर्जुनचौपारी गाउँपालिका, धादिङकै बेनीघाट रोराङ गाउँपालिका र गुल्मीको रुरुक्षेत्र गाउँपालिका रहेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको उपस्थितिमा उत्कृष्ट स्थानीय तहलाई सम्मान गर्ने र सोही अवसरमा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको शुभारम्भ गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ।