राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारबाट नक्खु कारागार सरुवा गर्ने निर्णय भएको छ।
कारागार विभागका सूचना अधिकारी सन्देश प्रसाद जोशीका अनुसार लामिछानेले नै नक्खु कारागारमा सरुवाको मागसहित निवेदन दिएका थिए। सोही मागअनुसार विभागले नक्खु कारागारमा पठाउने निर्णय गरेको हो।
“उहाँकै मागअनुसार नक्खु कारागार पठाउने निर्णय भएको हो। हामीले नक्खु कारागारसँग पत्राचार गरिसकेका छौँ। अब हवाई यात्राबाट ल्याउने वा अन्य किसिमले ल्याउने भन्ने निर्णय जिल्ला प्रशासनले गर्नेछ,” जोशीले जानकारी दिए।
हाल पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका लामिछानेलाई चैत २५ गते उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशमा त्यहाँ पुर्पक्षका लागि थुनामा राखिएको हो। विभागको पत्र रुपन्देही जिल्ला कारागार पुगिसकेको र त्यहाँबाट सरुवाको प्रक्रिया अगाडि बढ्ने जनाइएको छ।
यसअघि गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा लामिछानेको कारागार सरुवाको प्रक्रिया अघि बढिरहेको जानकारी सांसदहरूलाई दिएका थिए।
प्रतिक्रिया