पहिलोपटक नेपाललाई एमएमए च्याम्पियनशिप दिलाउने रवीन्द्र ढाँटलाई सरकारी सम्मान

प्रोत्साहनस्वरूप ५ लाख रुपैयाँ दिने निर्णय

साझा प्रेस
350
Shares

नेपालका एमएमए (मिक्स्ड मार्शल आर्ट्स) खेलाडी रवीन्द्र ढाँटले पहिलोपटक देशलाई अन्तर्राष्ट्रिय च्याम्पियनशिप दिलाएपछि सरकारले उनलाई नगद पुरस्कार दिने घोषणा गरेको छ।

भारतको नोयडामा साउन १७ गते राति सम्पन्न म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन-१७) बान्टमवेट फाइनलमा भारतीय प्रतिस्पर्धीलाई हराउँदै उपाधि जितेका ढाँटलाई प्रोत्साहनस्वरूप ५ लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषद्को पछिल्लो बैठकले गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गर्दै ढाँटलाई बधाई दिएका छन्।

सरकारले ढाँटका प्रशिक्षकलाई पनि २ लाख रुपैयाँ दिने निर्णय गरेको छ। यसअघि काठमाडौं महानगरपालिकाले मंगलबार ढाँटलाई २ लाख रुपैयाँको पुरस्कार प्रदान गरिसकेको थियो। साथै, उनका गृहनगर बझाङका विभिन्न पालिकाहरूले पनि नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरिरहेका छन्।

रवीन्द्र ढाँटको यो जितले नेपालमा एमएमए खेलको सम्भावना र लोकप्रियता दुवैलाई नयाँ उचाइमा पुर्‍याएको खेल विशेषज्ञहरूको भनाइ छ।