नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र इञ्चार्ज भानुभक्त ढकालले पार्टीका आन्तरिक विषय सार्वजनिक रूपमा उठाउने अभ्यास पार्टी अनुशासन विपरीत भएको बताएका छन् ।
प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशद्वारा कञ्चनपुरमा आयोजित पत्रकार प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीको आलोचना गर्ने अधिकार भए पनि सम्बन्धित ठाउँमा राखिनुपर्ने स्पष्ट पारे । ‘केपी ओली विनाको एमाले बनाऊँ भन्न पाइन्छ, म बन्छु, उहाँभन्दा राम्रो चलाउँछु भन्न पनि पाइन्छ’, ढकालले भन्नुभयो, ‘तर भन्ने कुरा ठाउँमा भन्नुपर्छ, कुठाउँमा भन्नु हुँदैन ।’
उनका अनुसार दुई कार्यकालको सीमा र ७० वर्षको उमेर हदबन्दी हटाउने निर्णय कुनै व्यक्ति विशेषका लागि नभई, पार्टीको सामूहिक सोचविचारको उपज हो । उनले भने, ‘यो निर्णय सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीको सोचविचारबाट भएको हो । महाधिवेशनमा लड्न छुट त सबैसँग छ तर विधि र विधान विपरीत हल्ला गर्दै हिँड्नु अनुचित हो ।’
ढकालले यस्ता गतिविधि पार्टी नीति विपरीत, नैतिकता विहीन र गैरजिम्मेवार हुने टिप्पणी गरे । उनले भने, ‘पार्टीभित्र सबैले ओली चाहिन्छ भन्नुहुन्छ, बैठकमा पनि उहाँकै नेतृत्वमा पार्टी अघि बढोस् भन्ने चाहना छ तर बाहिर देशी–विदेशी षड्यन्त्रसँग सहमत हुने कुरा पार्टी हित विपरीत हुन्छ ।’
‘मिसन ०८४’ को कमाण्ड केपी शर्मा ओली नै रहने कुरामा पनि ढकालले स्पष्टता दिनुभएको छ । उहाँका अनुसार यस विषयमा पार्टीभित्र सर्वसम्मत निर्णय भइसकेको छ । ‘यो पार्टीको सर्वसम्मत फैसला हो’, उनले भने ।
प्रतिक्रिया