प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान (फोटो सहित)

साझा प्रेस
50
Shares

प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन मध्यरात तुर्कमेनिस्तानतर्फ प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओली तुर्कमेनिस्तानको अवाजा सहरमा यही साउन २० देखि २३ गतेसम्म (अगस्ट ५–८) आयोजना हुने सम्मेलनमा भाग लिन राष्ट्रपतिको औपचारिक निमन्त्रणा र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रस्थान गरेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूले प्रधानमन्त्रीलाई बिदाइ गरे।

भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षको हैसियतमा प्रधानमन्त्री ओलीले सम्मेलनमा प्रमुख सम्बोधन गर्ने कार्यक्रम छ। त्यसैगरी, एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रमहरूमा पनि उनले सम्बोधन गर्नेछन् ।

नेपाल हाल एलएलडिसी समूहको अध्यक्ष राष्ट्रको भूमिका निर्वाह गर्दै आएको छ। सम्मेलनमा एसिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ वटा भूपरिवेष्ठित विकासशील देशहरूले भाग लिनेछन् ।

सम्मेलनको मुख्य एजेन्डा अन्तर्राष्ट्रिय व्यापारमा प्रत्यक्ष समुद्री पहुँच नहुने मुलुकहरूको चुनौती र समाधानमाथि केन्द्रित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। सीमित पहुँच, पारवहनमा निर्भरता, लामो दूरी, बोझिलो प्रक्रिया, र अपर्याप्त पूर्वाधारका कारण यी राष्ट्रहरूको प्रतिस्पर्धात्मक क्षमता कमजोर रहेको उल्लेख गरिएको छ।

सम्मेलनले दिगो विकासका लक्ष्य (SDGs) हासिल गर्न, लगानी प्रवाह बढाउन, र रणनीतिक साझेदारी विकास गर्न प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ।

सम्मेलनको अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न राष्ट्रहरूका प्रतिनिधिमण्डल प्रमुख, संयुक्त राष्ट्रसंघका अधिकारी तथा अन्य अन्तरराष्ट्रिय संस्थासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ।

प्रधानमन्त्रीसँग उच्चस्तरीय टोली
प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद सूर्यबहादुर थापा, प्रमूख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, सुरक्षाकर्मी, सरकारी अधिकारी तथा मिडियाकर्मीहरू सहभागी छन्।

प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्किने कार्यक्रम रहेको छ।