बागमतीमा कांग्रेस संसदीय दलको नेताका लागि निर्वाचन

इन्द्रबहादुर बानियाँ र रामकृष्ण चित्रकार चर्चामा

साझा प्रेस
100
Shares

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएपछि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले नयाँ नेता चयनका लागि बुधबार निर्वाचन गर्ने भएको छ।

कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिले हरिशरण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गर्दै बुधबार बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो। समितिमा ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य छन्।

मुख्यमन्त्री लामा विरुद्ध २१ जना प्रदेश सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएपछि मंगलबार दलको बैठकमा मत विभाजन गरिएको थियो। मत विभाजनमा लामाको पक्षमा १५ मतमात्र पर्न गयो भने विपक्षमा २२ मत खसेसँगै उनले संसदीय दलको नेताको हैसियत गुमाएका हुन्।

बानियाँ र चित्रकारबीच प्रतिस्पर्धा हुने

कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँलाई नयाँ संसदीय दलको नेताका लागि अघि सारिएको छ। अर्कोतर्फ लामा पक्षधरहरूले रामकृष्ण चित्रकारलाई उम्मेदवार बनाउन दबाब दिइरहेका छन्। तर, अन्तिम टुंगो भने भइनसकेको बताइएको छ।

बानियाँ यसअघि २०७९ पुसमा भएको संसदीय दलको निर्वाचनमा लामा विरुद्ध ५ मतले पराजित भएका थिए। यसपटक उनले लामाविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने नेतृत्व गरेका थिए, जसमा बहुमत पक्षमा रहेको भन्दै उनी थप हौसिएका देखिन्छन्।

मुख्यमन्त्री बन्ने दौडमा बानियाँ

लामाले नेता पद गुमाएसँगै मुख्यमन्त्रीसमेत गुमाउने दबाबमा छन्। बानियाँले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै लामा नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। उनले पहिलो चरणमा अविश्वासको प्रस्ताव सफल भइसकेको र अब दोस्रो चरणमा दलको नेता चयनपछि सरकारबारे निर्णय हुने स्पष्ट पारे।

लामाले भने आफूविरुद्ध योजनाबद्ध रूपमा प्रपञ्च रचिएको आरोप लगाएका छन्। उनले दलको नेताबाट हटाइएको भए पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताएका छन्। लामा भन्छन्, “सरकार र संसदीय दल फरक विषय हुन्, गठबन्धनको समर्थनमा सरकार गठन भएको हो।”

प्रदेशको सत्ता समीकरण फेरिन सक्ने आकलनसँगै एमाले बागमती प्रदेश संसदीय दलले पनि बुधबार बैठक बोलाएको छ। प्रमुख सचेतक मधुसूदन पौडेलका अनुसार बैठकमा हालको परिस्थिति र आगामी रणनीति तय गरिनेछ।

कांग्रेस मन्त्रीहरूको राजीनामा जारी

मुख्यमन्त्री लामाको नेतृत्वको सरकार संकटमा पर्दै गर्दा कांग्रेसका मन्त्रीहरू एकपछि अर्को गर्दै राजीनामा दिइरहेका छन्। पाँच मन्त्रीहरूले पहिले नै राजीनामा दिइसकेका थिए भने मंगलबार खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्यामबहादुर खड्काले पनि पद त्याग गरेका छन्।

११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७, एमाले २७, माओवादी केन्द्र २१, राप्रपा १३, एकीकृत समाजवादी ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्। हालको सत्ता गठबन्धनमा कांग्रेस र एमाले गरी ६४ सांसद छन्। सत्ता समीकरण परिवर्तन भएमा प्रदेश सरकारको नेतृत्व पनि फेरिन सक्ने संकेत देखिएको छ।