नेपाली कांग्रेस बागमती संसदीय दलमा अविश्वास प्रस्तावमाथि आज प्रक्रिया अघि बढ्ने

साझा प्रेस
50
Shares

बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चुलिँदै गएपछि संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज मंगलबारबाट औपचारिक प्रक्रिया अघि बढ्ने भएको छ।

नेपाली कांग्रेस संसदीय दलका सचिव तथा सांसद कृष्ण तामाङले आज बिहान १० बजेबाट अविश्वास प्रस्तावमाथिको प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्। ९ साउनमा प्रदेशसभा सचिवालयअन्तर्गत हेटौंडास्थित दलको कार्यालयमा २१ जना बहुमत सांसदले लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

अविश्वास प्रस्तावमा इन्द्रबहादुर बानियाँलाई नयाँ दलको नेता चयन गर्न अनुरोध गरिएको छ। सोमबार राति मुख्यमन्त्री लामा र सांसद बानियाँ पक्षबीच आज १० बजेबाट प्रस्तावको प्रक्रिया अघि बढाउने सहमति भएको हो।

स्रोतका अनुसार बानियाँ पक्षले सोमबार दिनभर छलफल गर्दै अविश्वास प्रस्ताव तत्काल टुंगो लगाउनुपर्ने अडान राखेको थियो। तर, लामा पक्षले आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्ले दक्षिण कोरियाबाट फर्किन बाँकी रहेको भन्दै प्रक्रिया केही समय पछाडि सार्न खोजेको थियो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बागमती विवाद समाधानका लागि पार्टीबाट खटिएका राजन केसीले सोमबार दिनभर सांसदहरूसँग छलफल गर्दै सहमतिमै निष्कर्ष निकाल्ने प्रयास गरेको बताएका छन्। यद्यपि सहमति नभए मतविभाजनमार्फत प्रस्तावलाई टुंगो लगाइने सहमति दुवै पक्षबीच भएको हो।

पूर्व कानुनमन्त्री तथा सांसद सुरजचन्द्र लामिछानेका अनुसार १० बजेअघिसम्म सहमतिका लागि अन्तिम प्रयास गरिनेछ। त्यसपछि संसदीय दलको कार्यालयले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरूको सनाखत प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

यदि प्रस्तावमा बहुमत सांसदको समर्थन कायम रह्यो भने लामाले मुख्यमन्त्री पद गुमाउनु पर्नेछ। तर, उनले बहुमत सांसदलाई पुन: आफ्नो पक्षमा ल्याउन सके दलको नेता रहने सम्भावना कायम रहन्छ।

कांग्रेसका बागमती प्रदेशसभामा हाल ३७ जना सांसद छन्। दलको नेता बन्न कम्तीमा १९ जनाको समर्थन आवश्यक हुन्छ। वर्तमान संकटको मुख्य कारण केही मन्त्रीहरूको राजीनामा र लामाविरुद्धको अविश्वास प्रस्ताव हो।

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, विमल ठकुरी, र मदुकुमार श्रेष्ठ छन्। उनीहरूले राजीनामा दिएपछि लामा संकटमा परेका हुन्। लामाले उनीहरूलाई तत्काल पदमुक्त गर्दै प्रदेश प्रमुखलाई पत्र पठाएका थिए।

इन्द्रबहादुर बानियाँ कांग्रेसको बागमती प्रदेश सभापति समेत रहेका छन्। उनले लामालाई हटाएर आफू मुख्यमन्त्री बन्ने प्रयासमा अविश्वास प्रस्ताव अघि बढाएका हुन्। २०७९ सालको दलको निर्वाचनमा लामा २१ मतसहित विजयी हुँदा बानियाँले १६ मत पाएका थिए। पहिलो कार्यकालमा दलको नेता रहँदा पनि बानियाँ मुख्यमन्त्री बन्न भने सकेका थिएनन्।

आजको प्रक्रिया दलभित्रको शक्ति सन्तुलनको निर्णायक क्षण बन्ने निश्चित देखिन्छ।