प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने

साझा प्रेस
50
Shares

संघीय संसद्को प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ । बैठकमा विभिन्न विधेयक र प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ भने प्रधानमन्त्री केपी शर्मा ओली सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

संघीय संसद् सचिवालयका अनुसार, आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठन (WTO) को मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्भौता’ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

प्रधानमन्त्री ओलीले विशेषतः सांसदहरूले विगतका बैठकहरूमा उठाएका विकास, बजेट कार्यान्वयन, प्रशासनिक सुशासन र नीतिगत प्रश्नहरूमा जवाफ दिने तयारी गरिएको सचिवालय स्रोतले जनाएको छ ।

संसदमा अहिले बजेट सत्र चलिरहेको छ। विभिन्न मन्त्रालयहरूका बजेट र कार्यक्रममाथि छलफल, सुझाव र निर्णयको चरणमा संसद अघि बढिरहेको छ। आजको बैठकमा बजेटसँगै कानुनी विधेयक र अन्तर्राष्ट्रिय सम्झौतासम्बन्धी छलफल पनि महत्त्वपूर्ण रहने अपेक्षा गरिएको छ ।

संसद सचिवालयले सबै सांसदलाई समयमै बैठकमा उपस्थित हुन अनुरोध गरेको छ ।