नेपाल–चीन सम्बन्ध पुस्ता पुस्तासम्म लैजानुपर्छ : प्रधानमन्त्री ओली

साझा प्रेस
50
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ। उहाँका अनुसार दुई मुलुकबीचको मित्रता केवल लेनदेनमा सीमित नहुने, गहिरो भावनात्मक र सांस्कृतिक पक्षहरू जोडिएका सम्बन्ध हुन्।

काठमाडौंमा आयोजित ‘नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन २०२५’ मा बोल्दै प्रधानमन्त्री ओलीले भने, “मित्रताका लागि गच्छे चाहिँदैन। गच्छेअनुसार पारस्परिक सम्बन्ध बढाइनेछ। अझ व्यापक बनाइनेछ।”

कार्यक्रम फिनिक्स इन्स्पिरेशनले आयोजना गरेको हो। प्रधानमन्त्री ओलीले सम्मेलन नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा आयोजना हुनु विशेष महत्वको भएको बताउनुभयो। “यस्ता कार्यक्रमले सांस्कृतिक सम्बन्ध मात्र होइन, पुस्ता पुस्तासम्मको मित्रता अझ मजबुत बनाउँछ,” उहाँले भन्नुभयो।

प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउन आवश्यक सबै पहल गरिने स्पष्ट पार्नुभयो। “दुई देशबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने सवालमा सरकारको तर्फबाट कुनै पनि कसर बाँकी राखिने छैन,” उहाँको भनाइ थियो।

सम्मान तथा पुरस्कार वितरण
कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मानसमेत गर्नुभयो। युवा सशक्तिकरण पुरस्कार काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोललाई, व्यवसाय नेतृत्व पुरस्कार राजेशकाजी श्रेष्ठ र वीरेन्द्रराज पाण्डेलाई तथा शिक्षा उत्कृष्ट पुरस्कार अनुराधा शर्मालाई प्रदान गरियो।

प्रधानमन्त्री ओलीले यस्ता सम्मानले सामाजिक योगदानको कदर मात्र होइन, भविष्यका पुस्तालाई पनि प्रेरणा दिने बताउनुभयो।