नेपाली हास्य टेलिश्रृंखला ‘गाँवै रमाइलो’ पछिल्लो समय दर्शकको मन जित्न सफल भएको छ। सात हप्ता अघि बिहीबारबाट सुरु भएको यो टेलिश्रृंखलाले सातौं भागसम्म आइपुग्दा उल्लेख्य दर्शकको ध्यान तानेको छ। हरेक बिहीबार साँझ प्रसारण हुने यस शृंखलालाई हेर्ने दर्शकको संख्या क्रमशः बढ्दै गएको निर्देशक नेत्र राउतले जानकारी दिएका छन्।
सातौं भागमा आएको अप्रत्याशित ट्विस्टले दर्शकलाई अझै उत्साहित बनाएको छ। उक्त भागमा देखाइएको कथा अनुसार, भर्खरै जेलबाट निस्किएका पात्र सुवास घिसिङ ‘सुनपहेंले’सँग नवीना सिलवालले निभाएकी ‘खुइली’ विवाह गर्न राजी हुन्छिन्। तर खुइलीकी साथीको रूपमा पत्रकारको प्रवेशपछि कथा मोडिन्छ। पत्रकारले खुइलीलाई सुनपहेंलेको विरुद्धमा भड्काउँछिन् र अन्ततः आफैंले सुनपहेंलेसँग विवाह गर्छिन्। यस घटनाले खुइलीलाई मानसिक तनावमा पार्दछ।
निर्देशक राउतका अनुसार, शृंखलाले सामाजिक यथार्थ, राजनीतिक विकृति र वर्तमान प्रवृत्तिमाथि तीखो व्यङ्ग्य प्रस्तुत गर्ने उद्देश्य राखेको छ। “हाम्रो मिहिनेतलाई दर्शकले सातौं भागसम्म आइपुग्दा अत्यधिक मन पराउनु भएको छ,” निर्देशक राउतले भने, “हामी आगामी शृंखलालाई अझ परिस्कृत बनाएर ल्याउने तयारीमा छौं।”
‘गाँवै रमाइलो’ ले विशेषतः सामाजिक सन्देश दिने, हास्यका माध्यमबाट गाउँ फर्कन प्रेरणा दिने तथा प्रवासी युवालाई भावनात्मक रूपमा जोड्ने प्रयास गरेको देखिन्छ। सिरियलमा नेपालको चर्चित हास्य कलाकारहरूको प्रभावशाली उपस्थितिले पनि दर्शकलाई आकर्षित गरिरहेको छ। कलाकारहरूमा देशभक्त खनाल, दमन रुपाखेती, लक्ष्मण विक्रम बस्नेत, सुरेश थापा, विनोद राई, नवीना सिलवाल, नेत्रविक्रम खड्का, सुभाना राई, कृशला तामाङलगायतको अभिनय रहेको छ।
सिरियलको संगीत नवीन रावलको रहेको छ भने मिक्सिङ किस्मत स्टुडियोले गरेको हो। पार्श्व ध्वनि सुविन सेन्चुरीले दिएका छन् भने छायांकन ज्ञानकुमार कट्टेलको छ। सम्पादन राजकुमार कार्कीले गरेका छन् भने आइटी सपोर्ट विशाल राई र निर्माण नियन्त्रक सुजन गिरी रहेका छन्।
यस शृंखलाको परिकल्पना टेलिफिल्म निर्माता जयकुमार थापाको हो। उनले यसअघि ‘लोडसेडिङ’, ‘गुलेली’, ‘उटपट्याङ’जस्ता चर्चित हास्य टेलिचलचित्र ल्याइसकेका छन्। ‘गाँवै रमाइलो’ को निर्माता नदिश मानन्धर हुन्।
यो टेलिश्रृंखला हरेक बिहीबार बेलुका ७:३० बजे युट्युबमार्फत प्रसारण हुँदै आएको छ। सातौं भागको उत्कर्षपूर्ण कथाविकासपछि दर्शक अब आठौं भाग कस्तो हुनेछ भनेर प्रतिक्षामा छन्।
प्रतिक्रिया