एमाले पोलिटब्युरो बैठक १ बजे

साझा प्रेस
50
Shares

ललितपुरको च्यासलस्थित नेकपा एमाले केन्द्रीय कार्यालयमा आज बिहान ११ बजेका लागि तय गरिएको पोलिटब्युरो बैठकको समय परिवर्तन गरिएको छ। अब उक्त बैठक दिउँसो १ बजेबाट सुरु हुने भएको छ।

केन्द्रीय कार्यालय स्रोतका अनुसार बिहीबार रातिसम्म चलेको सचिवालयको ४९औँ बैठक लम्बिएको कारण बैठकको समय सारिएको हो। बिहीबारको सचिवालय बैठकले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा छलफल गर्दै १५ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने प्रस्ताव पारित गरेको थियो।

त्यसै बैठकमा पार्टीको विधानमा उल्लेख भएको ७० वर्ष उमेर सीमा र कार्यकारी पदमा दुई कार्यकालको सर्त आगामी कार्यकालमा लागू नहुने भन्ने सहमति पनि बनेको थियो।

पोलिटब्युरो बैठकमा सोही विषयमा थप छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्। साथै, पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी जिम्मेवारी दिने कि नदिने भन्ने विषयमा पनि बिहीबारको बैठकमा प्रारम्भिक चर्चा भएको र पोलिटब्युरोमा पनि उक्त विषय उठ्न सक्ने उनले बताए।

सचिवालय बैठकमा सहभागी अधिकांश नेताहरूले पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा जिम्मेवारी लिन इच्छुक रहेकोबारे पार्टीलाई औपचारिक जानकारी नदिएको भन्दै तत्काल निर्णयमा नपुग्नुपर्ने धारणा राखेका थिए। एक पदाधिकारीले भने, “उहाँले आफ्ना चाहना र उद्देश्य पार्टीसमक्ष राखेपछि मात्रै निर्णय गर्न सकिन्छ भन्ने हाम्रो बुझाइ हो।”