देशको समग्र अर्थतन्त्र सुस्त भइरहेका बेला पूँजी बजारले भने गत आर्थिक वर्ष २०८१/८२ मा ऐतिहासिक उचाइ लिएको छ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)का अनुसार गत आर्थिक वर्षमा धितोपत्रको दोस्रो बजार कारोबार अभूतपूर्व रूपमा वृद्धि भई २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्र ७ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। कारोबार रकममा १८९.२३ प्रतिशतको वृद्धि हुनु पूँजी बजारको इतिहासमै महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसअघि कारोबारको सबैभन्दा ठूलो रेकर्ड आर्थिक वर्ष २०७७/७८ मा कायम भएको थियो, जसमा करिब १४ खर्ब ५४ अर्ब बराबरको कारोबार भएको थियो।
बजार पुँजीकरणमा पनि उल्लेख्य वृद्धि
वित्तीय वर्षको अन्त्यमा बजार पुँजीकरणसमेत उल्लेखनीय रूपले वृद्धि भएको देखिएको छ। २०८१ असार मसान्तसम्म ३५ खर्ब ५३ अर्ब ६७ करोड रुपैयाँ रहेको पुँजीकरण २०८२ को असार मसान्तसम्ममा ३१.०५ प्रतिशतले बढेर ४६ खर्ब ५६ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।
यो वृद्धिले नेपाली धितोपत्र बजारप्रति लगानीकर्ताको विश्वास थप मजबुत बनेको संकेत दिन्छ।
सूचीकृत कम्पनीको संख्या बढ्दै
साथै, आर्थिक वर्षको अन्त्यसम्म नेप्सेमा सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ। सोही अवधिमा मर्जर र एक्विजिसनका कारण तीन कम्पनी सूचीकृत सूचीबाट हटेका छन् भने प्रथम सार्वजनिक निष्कासन (IPO) मार्फत चार नयाँ कम्पनीले बजारमा प्रवेश गरेका छन्।
८० करोड कित्ता धितोपत्र सूचीकृत
गत वर्षभित्र सूचीकृत भएका धितोपत्रहरूको संख्या पनि उल्लेख्य रहेको छ।
- ३ करोड ६५ लाख कित्ता सेयर प्रथम सार्वजनिक निष्कासनमार्फत
- ११ लाख २० हजार कित्ता सेयर थप निष्कासनमार्फत
- ४ करोड ३२ लाख ५८ हजार कित्ता सेयर सरकार र स्थानीय तहमार्फत
- ३७ करोड ८१ लाख युनिट सामूहिक लगानी कोषबाट
- ८३ लाख कित्ता संस्थागत ऋणपत्र
यसरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन्।
प्रतिक्रिया