नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमा हटाउने महत्वपूर्ण निर्णय गरेको छ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार राति बसेको केन्द्रीय सचिवालयको बैठकले आगामी विधान महाधिवेशनका लागि प्रस्तुत हुने विधान संशोधन प्रस्तावलाई अन्तिम रूप दिएको हो।
पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकारहरूसँगको संक्षिप्त प्रतिक्रिया दिँदै पार्टी विधान २०७८ को धारा ६४ अन्तर्गत रहेको “७० वर्ष उमेर हद” र “दुई कार्यकालभन्दा बढी पद नपाउने” व्यवस्थालाई हटाउने निर्णय सचिवालय बैठकले सर्वसम्मत रूपमा पास गरेको जानकारी दिए।
यो निर्णयलाई पार्टीभित्र र बाहिर धेरैले प्रधानमन्त्री ओलीको नेतृत्वलाई दीर्घकालीन रूपमा संस्थागत गर्न गरिएको कदमका रूपमा हेरेका छन् । ओली हाल ७२ वर्ष पार गरिसकेका छन् र हालको व्यवस्थाअनुसार आगामी कार्यकालमा पार्टीको औपचारिक नेतृत्व गर्न अयोग्य हुने स्थिति आउन सक्ने थियो । उक्त व्यवस्थाको हटाइले ओलीलाई आगामी महाधिवेशनहरूमा पुनः नेतृत्व सम्हाल्ने बाटो खुला बनाएको छ ।
विधान संशोधन प्रस्ताव पोलिटब्युरोमा
पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तयार पारेको संशोधन प्रस्ताव आज (शुक्रबार) बिहान ११ बजे बस्ने पोलिटब्युरो बैठकमा पेस गरिने छ। पोलिटब्युरोबाट पारित भएपछि उक्त प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने तयारी रहेको उपमहासचिव ज्ञवालीले बताए।
यही साउन ५ गते केन्द्रीय कमिटीको बैठक बस्नेछ भने आगामी भदौ २०, २१ र २२ गते काठमाडौंमा आयोजना हुने दोस्रो विधान महाधिवेशनमा उक्त संशोधन प्रस्ताव अनुमोदन भएमा नयाँ प्रावधान कार्यान्वयनमा आउनेछ।
सचिवालय बैठकले पार्टीको पदाधिकारीको संख्या १५ कायम गर्ने निर्णय गरेको छ भने पोलिटब्युरो सदस्य संख्या ८४ र केन्द्रीय कमिटी सदस्य संख्या २५१ राखिने छ। योसँगै पार्टीको सांगठनिक ढाँचा थप विस्तार र संस्थागत हुने देखिएको छ।
सदस्यता प्रणालीमा पनि परिवर्तन
बैठकले पार्टीमा दुई किसिमका सदस्य रहने प्रस्ताव पनि अघि सारेको छ —
- साधारण सदस्य
- संगठित सदस्य
उपमहासचिव ज्ञवालीका अनुसार यसले पार्टीको सांगठनिक आधारलाई स्पष्ट र फराकिलो बनाउन सघाउनेछ।
यस निर्णयको राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया आएको छ। आलोचकहरूले यसलाई अधिनायकवादी प्रवृत्तिको औपचारिकता भनेका छन् भने समर्थकहरूले अनुभवी नेतृत्वको निरन्तरता र पार्टी स्थायित्व को पक्षमा आवश्यक कदम भन्दै समर्थन जनाएका छन्।
प्रतिक्रिया