बुढानीलकण्ठ नगरपालिका–१० ले बालबालिकाको शारीरिक र मानसिक विकासलाई सुदृढ बनाउने लक्ष्यसहित Grassroot Football तालिम कार्यक्रम सञ्चालन गर्न लागेको छ। Football Development Program अन्तर्गत सञ्चालन हुने यो तालिम २०७८ असार २८ गते शनिबारदेखि सुरु हुनेछ।
वडा कार्यालयका अनुसार, तालिममा ८ देखि १४ वर्ष उमेर समूहका बालबालिकाहरु सहभागी हुन सक्नेछन्। हरेक शनिबार बिहान ६ बजेदेखि ९ बजेसम्म कपनस्थित ह्यान्डबल बहुउद्देश्यीय खेल मैदानमा तालिम सञ्चालन हुनेछ।
यस अवसरमा वडा कार्यालयले इच्छुक बालबालिकाका अभिभावकलाई वडा कार्यालयमा सम्पर्क गरी नाम दर्ता गर्न आग्रह गरेको छ।
तालिममा सहभागी बालबालिकालाई फुटबलको आधारभूत सीप, अनुशासन, सहकार्य, र सामूहिक खेलभावना सम्बन्धी तालिम दिइनेछ।
नगर प्रवक्ता नवराज भट्टराईका अनुसार,
“बालबालिकाको प्रतिभा पहिचान गर्दै तिनीहरूलाई फुटबलजस्ता खेलकुद गतिविधिमा प्रारम्भिक तहमै संलग्न गराई भविष्यमा सक्षम खेलाडी उत्पादन गर्ने अभियानको थालनी गरिएको हो।“
उनले नगरपालिकाले भविष्यमा यस्ता कार्यक्रमलाई थप व्यवस्थित, नियमित र फराकिलो बनाउँदै लैजाने योजना रहेको समेत जानकारी दिए।
यो कार्यक्रमबाट बालबालिकाको शारीरिक स्वास्थ्यसँगै नेतृत्व क्षमता, आत्मविश्वास र समूहमा काम गर्ने सीप समेत विकास हुने विश्वास नगरपालिकाले लिएको छ।

प्रतिक्रिया