प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले पुर्याएको धनजनको क्षति गम्भीर रहेको भन्दै राज्यले तिव्र गतिमा राहत तथा पुनःस्थापनाको काम अघि बढाउने बताए ।
स्थलगत निरीक्षणका लागि आज बिहान रसुवा पुगेका प्रधानमन्त्री ओलीले बाढीबाट प्रभावित क्षेत्रको अवलोकन गर्दै स्थानीय प्रशासन, जनप्रतिनिधि तथा स्थानीयवासीहरूसँग छलफल गरे।
उनले प्रभावित क्षेत्र निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “यसप्रकारको विपद्को बेला राज्यको जिम्मेवारी अझ बढ्छ । बेपत्ताको खोजी, घाइतेको उपचार र पीडितको पुनःस्थापनालाई सरकारले शीघ्र प्राथमिकता दिन्छ ।”
बाढीका कारण हालसम्म २० जना बेपत्ता भएका छन्, जसमा नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहका छ जना कर्मचारी, पाँच जना डिब्बा चालक र छ जना चिनियाँ नागरिक रहेका छन् । प्रधानमन्त्रीले भने “बेपत्ताको खोजी कार्य जारी छ, खोजी तथा उद्धारमा कुनै कसर बाँकी राखिँदैन ।”
बाढीले रसुवागढी भन्सारस्थित सुक्खा बन्दरगाह बाढीले क्षतिग्रस्त बनाएको र मालवाहक कन्टेनर बगाउँदा ठूलो आर्थिक क्षति भएको छ ।बाढीले ड्यामसाइट बगाउँदा १ सय ११ मेगावाटको रसुवागढी र २० मेगावाटको चिलिमे जलविद्युत् आयोजना प्रभावित भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ऊर्जा पूर्वाधार पुनःस्थापनाका लागि आवश्यक सहयोग जुटाइने बताए ।
उनको भनाइमा, “ल्हेन्दे खोलाको मितेरी पुल बगाउँदा नेपाल–चीन सिमानामा रहेको केरुङ नाकासँगको सीधा सम्पर्क टुटेको छ, जसको पुनर्निर्माण तत्काल थालिनेछ ।”
प्रधानमन्त्रीसँगै निरीक्षणमा गएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, चीनका लागि नेपाली राजदूत चेन सोङ, प्रधानसेनापति र चारै सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी थिए ।
स्थलगत निरीक्षणपछि प्रधानमन्त्री ओलीले स्थानीय प्रशासनलाई उद्धार, राहत र पुनःस्थापनामा समन्वय गर्न स्पष्ट निर्देशन दिएको बताइएको छ।
प्रतिक्रिया