स्पेन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

साझा प्रेस
50
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडमा सम्पन्न भएको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा आफूले नेपालको हैसियतमा मात्र नभई सम्पूर्ण अल्पविकसित मुलुकहरूको तर्फबाट आवाज उठाएको बताएका छन्।

सम्मेलनमा सहभागी भई विभिन्न उच्चस्तरीय बैठक र छलफलमा सक्रिय सहभागिता जनाएका प्रधानमन्त्री ओली आज अपराह्न ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको सूचना तथा प्रसारण विभागले जनाएको छ।

स्पेन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गरेका थिए। उक्त भेटपछि ओलीले भने, “हामीले विकासशील राष्ट्रहरूका साझा चासोका विषयमा महासचिवसँग गहिरो संवाद गरेका छौं। विकासका लागि वित्त पहुँच सुनिश्चित गर्न राष्ट्रसंघले अझ ठोस पहल गर्नुपर्ने कुरा मैले स्पष्ट पारेको छु।”

स्पेन सरकारका अध्यक्ष पेड्रो साञ्चेजसँगको भेटबारे पनि प्रधानमन्त्री ओलीले द्विपक्षीय सहकार्यका नयाँ सम्भावनाहरूको खोजी भएको बताए। “स्पेनसँग ऊर्जा, पर्यटन र प्रविधिमा सहकार्य बढाउन सकिने विषयमा सकारात्मक संवाद भएको छ,” ओलीले बताए।

यस्तै, उनले स्टोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेको जानकारी दिए। ओलीका अनुसार यी भेटवार्तामा जलवायु, प्रविधि स्थानान्तरण र अन्तर्राष्ट्रिय व्यापार सञ्जालमा पहुँच विस्तारजस्ता विषयमा कुराकानी भएको थियो।

प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्दै अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता समेत गरेका थिए। उनले भने, “हामीजस्ता मुलुकहरूलाई विकासको मार्गमा अघि बढ्न अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धता कार्यान्वयनमा ल्याउनु अहिलेको आवश्यकता हो।”

उनले “विकास सहायतामा नयाँ सोच” विषयक छलफलमा भाग लिएको उल्लेख गर्दै भने, “विकास सहयोग केवल अनुदानको विषय मात्र होइन, साझा जिम्मेवारी र विश्व आर्थिक प्रणालीको समावेशी बनाउने विषय हो।”

स्पेन भ्रमणका अन्तिम दिन उनले रियल म्याड्रिड क्लबको सान्टियागो बर्नाबेउ रंगशाला समेत अवलोकन गरेका थिए। त्यसबारे बोल्दै ओलीले भने, “खेलकुदले राष्ट्रलाई जोड्ने भूमिका खेल्छ, र हामीले यस्ता संरचनाबाट सिक्न सक्नेछौं।”

स्पेनस्थित नेपाली दूतावास निरीक्षण र नेपाली समुदायसँग भेटघाटसमेत सफलतापूर्वक सम्पन्न भएको जनाउँदै उनले भने, “देशबाहिर रहेका नेपालीहरू हाम्रो शक्ति हुन्। उनीहरूलाई राज्यको रणनीतिक साझेदारका रूपमा हेर्नुपर्छ।”

कतारको दोहा हुँदै आज स्वदेश फर्कन लागेका प्रधानमन्त्री ओलीले स्पेन भ्रमणलाई “राजनयिक, विकास र सहकार्य तीनै दृष्टिले फलदायी” भएको ठहर गरेका छन्।