“ऊनको स्वीटर” चलचित्रको मुनाफाबाट हरियाली विराटनगर अभियानलाई सहयोग


दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था डाइनामिक मोरङ कमिटी दक्षिण कोरियाले नेपाली चलचित्र “ऊनको स्वीटर” को प्रदर्शनबाट प्राप्त केही मुनाफा हरियाली विराटनगर अभियानलाई आर्थिक सहयोग स्वरूप प्रदान गरेको छ।

गत आइतबार, ख्यङ्गी सिहुङ्सीस्थित मेगाबक्स हलमा चलचित्र “ऊनको स्वीटर” को प्रदर्शनी आयोजना गरिएको थियो। सो प्रदर्शनीबाट प्राप्त मुनाफामध्येबाट रु. ५१,००० रुपैयाँ नेपालमा सञ्चालित हरित अभियानलाई प्रदान गरिएको हो । हरियाली विराटनगर अभियानले पूर्वको राजधानी विराटनगरको मुख्य सडक क्षेत्रमा रुख रोप्ने, हुर्काउने र संरक्षण गर्ने कार्य गर्दै आएको छ।

अभियानमा समाजसेवी पारुल क्षेत्रीको नेतृत्वमा युवाहरूको सक्रिय सहभागिता रहेको छ । डाइनामिक मोरङ कमिटीको पहलमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रम मङ्गलबार सम्पन्न भएको हो। कार्यक्रममा संस्थाका अग्रज तथा सल्लाहकारहरू काजी नेपाल, काजीबाबु पोखरेल, प्रदिप बस्नेत, राज भट्टराई, नविन ढकाल लगायतको उपस्थिति थियो।

कार्यक्रमका अवसरमा समितिका अध्यक्ष सन्तोष सिग्देलले भने, “विराटनगर सधैं हरियाली र स्वच्छ रहोस् भन्ने हाम्रो कामना छ। हामीलाई यस्तो पुण्य कार्यमा जोडिने अवसर दिनुभएकोमा अभियानप्रति आभार प्रकट गर्दछौं।”

हरियाली अभियानको टोलीले पनि सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा थप वृक्षारोपण र संरक्षणमा तीव्रता दिने प्रतिबद्धता जनाएको छ।