पत्रकारमाथि दुर्व्यवहार प्रति प्रेस चौतारीको ध्यानाकर्षण

साझा प्रेस
0
Shares

प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीले प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य तथा नजर अनलाइनका सम्पादक झलक पालीमाथि भएको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

२०८२ सालको जेठ १४ गते डोटीको जोरायल गाउँपालिका–१ का दीपक खडकाको मृत्युबारे समाचार प्रकाशन गरेपछि पत्रकार पालीमाथि स्थानीय स्तरमा भ्रम फैलाउन खोजेको भन्दै दबाब दिने तथा मानसिक रूपले हतोत्साहित गर्ने किसिमका गतिविधि भएको भन्दै प्रेस चौतारीले कडा आपत्ति जनाएको हो।

पत्रकार पालीले प्रहरीसँग संवादका लागि बनाइएको ‘प्रहरीसँग पत्रकार’ नामक म्यासेन्जर समूहमा प्राप्त सूचनाका आधारमा समाचार तयार पारेका थिए। तर, सोही सूचनालाई आधार मानेर तयार पारिएको समाचारलाई लिएर प्रहरी स्वयमले नै पत्रकार विरुद्ध वातावरण बनाउने काम गरेको भन्दै चौतारीले त्यसप्रति आपत्ति जनाएको हो ।

पालीले माफी माग्नुपर्ने भन्ने निर्णय तथा समाचारलाई “भ्रमपूर्ण” भनेर पन्छिने प्रहरीको प्रवृत्तिलाई प्रेस स्वतन्त्रता र पत्रकारको आत्मसम्मानमाथिको हमला भएको चौतारीको ठहर छ।

प्रेस चौतारी नेपाल महासचिव हिरामान लामाद्वारा जारी विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन गरि पालिलाई सुरक्षाको प्रत्याभूति दिन माग गरिएको छ ।