पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएका घाइतेमध्ये तीन जना कामदारको गए राति मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख, प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले बताए अनुसार, बाराको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको उपचारका क्रममा मृत्यु भएको हो।
उनका अनुसार, गम्भीर घाइते भएका ती कामदारलाई जिल्ला अस्पतालबाट विराटनगरस्थित नोबेल मेडिकल कलेजमा रेफर गरिएको थियो। जाँचका क्रममा तीनै जनालाई चिकित्सकले राति मृत घोषणा गरेका उनले बताए। मृतकका शव अहिले सोही अस्पतालमा राखिएको बुढाथोकीले जानकारी दिए।
घटनाबारे थप जानकारी दिँदै उनले भने, “७० मिटर लामो बेलिब्रिज हेंवा खोलामा जडान गर्ने क्रममा फिदिमतर्फको भागमा अत्यधिक भार पर्न जाँदा पुल भाँचिएको हो।”
उनका अनुसार, “पुल भाँचिएसँगै काममा खटिएका छ जना कामदार खोलामा खसेका थिए।“
प्राप्त जानकारी अनुसार, २०८० सालको असार २ गतेको बाढीले हेंवा खोलामा रहेको पुरानो ४५ मिटरको पुल बगाएपछि भारत सरकारको अनुदानमा नयाँ बेलिब्रिज जडान गर्न लागिएको थियो।
तीन करोड ४९ लाख रुपैयाँ लागतमा ‘सुपर सौगात लाइट बिल्डर्स जेभी’ ले पुलको निर्माण गरिरहेको बताइएको छ।
प्रतिक्रिया