विद्यार्थी सङ्ख्या न्यून भएपछि वालिङ नगरपालिकाले क्षेत्रभित्रका पाँच आधारभूत विद्यालयलाई समायोजन गरेको छ। नगर शिक्षा समितिको निर्णयअनुसार चालु शैक्षिक सत्रको सुरुवातदेखि नै ती विद्यालयहरूलाई नजिकका अन्य विद्यालयमा मर्ज गरिएको हो।
समायोजनमा परेका विद्यालयहरूमा वालिङ–२ कसेदीस्थित चक्रदेवी आधारभूत विद्यालय, वालिङ–६ को वनपाला आधारभूत विद्यालय, वालिङ–७ को विद्याज्योति आधारभूत विद्यालय, वालिङ–१२ को प्रभात आधारभूत विद्यालय र वालिङ–१४ सिख्रेको जनकल्याण आधारभूत विद्यालय रहेका छन्। यी सबै विद्यालय कक्षा १ देखि ३ सम्म मात्र सञ्चालनमा थिए।
वालिङ नगरपालिकाका शिक्षा शाखा प्रमुख ख्यामनारायण काफ्लेका अनुसार विद्यालय समायोजनको निर्णय विद्यार्थी सङ्ख्या र भौगोलिक अवस्थालाई ध्यानमा राखेर गरिएको हो। “अनुगमनका क्रममा समस्या देखिएका विद्यालयलाई पायक पर्ने नजिकको विद्यालयमा समायोजन गरेका हौँ,” उनले भने, “ससाना बालबालिकालाई लामो दूरी पार गर्नु नपर्ने गरी योजना बनाइएको छ।”
नगरपालिकाले समायोजनमा परेका विद्यालयका शिक्षकलाई दरबन्दी कम तथा रिक्त रहेका विद्यालयमा खटाएको छ।
शिक्षा शाखाका अनुसार पछिल्लो समय ग्रामीण भेगका सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएका छन्। यसको मुख्य कारणहरूमा अभिभावक तथा विद्यार्थीको संस्थागत विद्यालयप्रतिको आकर्षण, रोजगारीका लागि गाउँ छाडेर सहरतिर बसाइँ सर्ने प्रवृत्ति, र निजी विद्यालयका सवारी साधनले गाउँमै गएर विद्यार्थी संकलन गर्नुजस्ता पक्षहरू रहेका छन्।
यद्यपि विद्यालयको हाजिरी पुस्तिकामा उल्लेख गरिएको विद्यार्थी सङ्ख्या तुलनात्मक रूपमा उच्च देखिए पनि नियमित रूपमा विद्यालय आउने विद्यार्थीको उपस्थिति न्यून हुने गरेको समेत जनाइएको छ।
प्रतिक्रिया