क्यानडाका प्रधानमन्त्री मार्क कर्नीले सोमबार टोरन्टोको ऐतिहासिक फोर्ट योर्क आर्मरीमा आयोजित एक विशेष कार्यक्रममा क्यानडा सन् २०२६ को सुरुमा नै नाटो (NATO) को रक्षा खर्च लक्ष्य जसअनुसार कुल गार्हस्थ उत्पादन (GDP) को २% रक्षा क्षेत्रमा खर्च गर्नुपर्ने घोषणा गरेका छन्। यो घोषणा पूर्वनिर्धारित समयभन्दा पाँच वर्ष अगावै आएको हो।
प्रधानमन्त्री कर्नीको साथमा प्रमुख सेनापति (Chief of the Defence Staff) जेनरल जेनी कारिग्नन र रक्षा मन्त्री डेभिड म्याकगिन्टी पनि उपस्थित थिए। क्यानाडाली सेनाका सदस्यहरूको बीचमा गरिएको यस घोषणाले सरकारको राष्ट्रिय सुरक्षाप्रतिको गम्भीर प्रतिबद्धता प्रष्ट पारेको छ।
“यो नाटोको लेखा अधिकारीलाई खुसी पार्न गरिएको घोषणा होइन,” प्रधानमन्त्री कर्नीले भने, “यो विश्व दिनप्रतिदिन जटिल र खतरनाक बन्दै गइरहेका बेला क्यानाडालीहरूको सुरक्षाका लागि हो।”
गम्भीर रणनीतिक महत्व राख्ने यो घोषणा जी-७ सम्मेलन (जो आगामी दिनमा अल्बर्टामा हुँदैछ) र त्यसपछि युरोपमा आयोजना हुने नाटो सम्मेलनको पूर्वसन्ध्यामा आएको हो। यसबाट क्यानडाले विश्व सुरक्षामा थप सक्रिय र भरपर्दो भूमिकाको तयारी गरिरहेको सन्देश दिन खोजिएको छ।
प्रधानमन्त्री कर्नीले क्यानाडालाई एक आधुनिक, सुसज्जित र आत्मनिर्भर सैन्य शक्तिको रूपमा निर्माण गर्ने योजना प्रस्तुत गरे। हाल क्यानाडाको चारवटा पनडुब्बीमध्ये एक मात्र चलायमान अवस्थामा छ भने जल तथा स्थल सेना सवारीसाधनको आधाभन्दा कम मात्र पूर्णरूपमा सञ्चालनयोग्य अवस्थामा छन्। सुधार योजनाअन्तर्गत नयाँ पनडुब्बी, जहाज, ड्रोन, विमान तथा स्थल सवारीहरू खरिद गर्ने र आर्कटिक निगरानी प्रणाली, रडार प्रणाली तथा समुद्री सतहमुनिको सेन्सरजस्ता प्रविधिहरूमा लगानी गरिनेछ।
योजना अन्तर्गत सैनिक कर्मचारीहरूको तलब बढाउने प्रस्ताव पनि छ, जसले सेना भर्ती तथा कर्मचारी रोकथाममा सकारात्मक भूमिका खेल्ने विश्वास गरिएको छ।
नाटोका अन्य सदस्य राष्ट्रहरू—विशेष गरी अमेरिका—बाट बढ्दो दबाबपछि क्यानडाले यो कदम चालेको हो। अमेरिकी नेताहरूले नाटो सदस्य राष्ट्रले ३.५% देखि ५% जीडीपी रक्षा खर्चमा पुर्याउनुपर्ने भन्दै आएका छन्। यस्तो सन्दर्भमा क्यानडाको २% लक्ष्य समयअघि नै पुरा गर्ने घोषणालाई रणनीतिक तथा प्रतीकात्मक सफलता मानिएको छ।
२०२४ मा क्यानडाको पहिलो महिला प्रमुख सेनापति बनेकी जेनरल जेनी कारिग्ननले कर्नीको साथमा उभिएर नेतृत्वमा विविधता र आधुनिकताको सन्देश दिइन्। रक्षा मन्त्री म्याकगिन्टीले यस योजनाले अमेरिकाप्रति लामो समयदेखिको निर्भरता घटाउने र युरोपेली साझेदारहरूसँग बलियो द्विपक्षीय सम्बन्ध विकास गर्ने अवसर दिने बताए।
यस घोषणापछि सरकारले आउँदो शरद ऋतुमा विस्तृत रक्षा बजेट सार्वजनिक गर्नेछ, जसमा आर्थिक प्रतिबद्धता र खरिद प्रक्रिया विस्तृत गरिनेछ।
यस रणनीतिक घोषणासँगै क्यानडाले नाटो दायित्व पुरा गर्ने मात्र होइन, बदलिँदो वैश्विक सुरक्षापरिस्थितिमा आफैंलाई सशक्त र आत्मनिर्भर सैन्य राष्ट्रको रूपमा उभ्याउने संकेत दिएको छ।
प्रतिक्रिया