नेपालमा पहिलोपटक आँखा स्वास्थ्यसम्बन्धी विश्वस्तरीय डिजिटल तालिम सञ्चालनमा ल्याइएको छ। नेपाल नेत्रज्योति संघले भारतको अर्विस इन्टरनेसनलको आर्थिक तथा प्राविधिक सहकार्यमा विराटनगर आँखा अस्पतालमा तालिम परियोजना सुरु गरेको हो ।
यो तालिम परियोजना विशेष गरी समय, आर्थिक अवस्था, भाषा वा विदेश जान नसक्नेहरूलाई लक्षित गरेर सञ्चालन गरिएको हो । परियोजनाबाट उत्पादन हुने जनशक्तिले उपचारपछि निको हुने अन्धोपना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
परियोजनाको सञ्चालनका लागि नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्द र अर्विस इन्टरनेशनल भारतका निर्देशक डा. ऋषिराज बोराहबीच हालै विराटनगरमा समझौतापत्रमा हस्ताक्षर भएको छ ।
दुई संस्थाको सहकार्यबाट नेपाललाई आँखा स्वास्थ्यसम्बन्धी डिजिटल तालिम ‘हब’का रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।
महासचिव चन्दका अनुसार यो तालिम भविष्यमा आवश्यकताअनुसार विभिन्न देशका भाषामा समेत सञ्चालन गरिने छ । उनले तालिमका लागि हाल विराटनगर आँखा अस्पतालमा अत्याधुनिक प्रविधि प्रयोग हुने संरचना स्थापना भइसकेको जानकारी दिए ।
“समय, आर्थिक अभाव र भाषा जस्ता अवरोधले विदेश जान नसक्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई लक्षित गरी यो परियोजना ल्याइएको हो,” चन्दले बताए ।
अर्विस इन्टरनेसनल भारतका निर्देशक डा. बोराहले भने, “नेपालले आँखा उपचारका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। अब डिजिटल तालिम प्रणालीको विकासमार्फत् नेपाललाई आँखा स्वास्थ्य तालिमको अन्तर्राष्ट्रिय केन्द्र बनाउने हाम्रो उद्देश्य हो।”
तालिमहरू भौतिक रूपमा वा स्यान्डबीच ब्लेन्डेड लर्निङ मोडेलमार्फत हुने जनाइएको छ। सहभागीहरूले आफू कार्यरत स्थानबाटै पनि तालिम लिन सक्नेछन् ।
तालिममा मोतियाबिन्दु, जलबिन्दु, ऐन्टेरियर सेगमेन्ट, भिट्रियो रेटिना, अप्थाल्मिक व्यवस्थापन, वेट ल्याब तथा अप्ट्रोमेट्री साइन्स जस्ता विविध विषयमा प्रशिक्षण दिइनेछ । तालिममा अत्याधुनिक “रिमोट सर्जिकल कीट” र “साइबर साइट” प्रविधिको प्रयोग हुनेछ ।
संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार यो परियोजना सुरुमा विराटनगरमा लागू गरिएको हो, तर विस्तारै भैरहवास्थित श्री रणअम्बिका शाह आँखा अस्पतालसम्म विस्तार गरिनेछ ।
लहान आँखा तथा कान स्वास्थ्य कार्यक्रमका प्रमुख प्रशासक सुधीर ठाकुरले यो तालिम परियोजना नेपालमा नै पहिलोपटक सञ्चालनमा आएको जानकारी दिए। संघका कार्यक्रम व्यवस्थापक रञ्जन शाहका अनुसार पहिलो चरणमा नेपाली जनशक्तिका लागि सञ्चालन गरिने तालिम आगामी वर्षदेखि अन्तर्राष्ट्रिय सहभागिताका लागि खुला गरिनेछ ।
परियोजनाअन्तर्गत एक हप्ता, एक महिना, तीन महिना, एक वर्ष र दुई वर्षे तालिम सञ्चालन गरिनेछ ।
संघको तथ्यांकअनुसार स्थापना कालदेखि सन् २०२४ को अन्त्यसम्म संघका २८ आँखा अस्पताल, २२४ उपचार केन्द्र र ४४ जिल्ला शाखामार्फत ४ करोड ६८ लाखभन्दा बढी बिरामीलाई सेवा दिइएको छ भने ५३ लाख ९२ हजारभन्दा बढीको शल्यक्रिया गरिएको छ ।
प्रतिक्रिया