अमेरिकाबाट निष्कासित गरिएका थप नेपालीहरू चार्टर्ड विमानमार्फत आज काठमाडौं आइपुग्ने भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार अमेरिकाले चार्टर्ड गरेको विशेष विमान आज आइतबार अपराह्न सवा चार बजे काठमाडौं अवतरण गर्ने कार्यक्रम छ।
अध्यागमनका प्रवक्ता अञ्जन न्यौपानेले निष्कासित नेपालीहरू आउन लागेको पुष्टि गर्नुभयो। यद्यपि, उहाँका अनुसार कति जना नेपाली फर्किंदैछन् भन्ने यकिन विवरण भने विमान अवतरणपछिमात्र खुल्नेछ। प्रारम्भिक अनुमान अनुसार ४० जना जति नेपाली आज फिर्ता आउने अनुमान गरिएको छ। सुरुमा ४८ जना डिपोर्ट गरिने तयारी भए पनि केही रोकिएकाले संख्या घटेको हुनसक्ने बताइएको छ।
डोनाल्ड ट्रम्पले पुनः सत्ताको जिम्मेवारी लिएपछि अमेरिकाले आप्रवासी नीति कडा बनाउँदै आएको छ। भिसा नवीकरण नगरेका, ओभर स्टे गर्ने, वा इमिग्रेशन कानुन उल्लंघन गर्नेहरूलाई डिपोर्ट गर्ने क्रम तीव्र भइरहेको छ।
जनवरीदेखि मे महिनासम्म मात्र १४० जना नेपालीलाई अमेरिका सरकारले डिपोर्ट गरिसकेको छ।
डिपोर्ट भएका व्यक्तिहरूमध्ये धेरैजसोले दलाललाई ठूलो रकम बुझाएर अवैध रुपमा अमेरिका पुगेका थिए। उनीहरूलाई नेपाल आइपुगेपछि अध्यागमन र मानव बेचबिखन नियन्त्रण ब्युरोले प्रारम्भिक सोधपुछ गरी घर पठाउने गरेको छ। दलालविरुद्ध उजुरी परेमा मात्र अनुसन्धान सुरु गरिने प्रचलन छ।
प्रतिक्रिया