‘ह्रस्व दीर्घ’ निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्ने नयाँ फिल्म ‘आ बाट आमा’ मा अब अभिनेता पल शाह पनि जोडिएका छन्। केही साताअघि मात्र अभिनेत्री विपना थापा मुख्य भूमिकामा अनुबन्ध भएकी थिइन्। पल र निर्देशक पन्तबीच हालै लिखित सम्झौता सम्पन्न भएको हो।
आगामी भदौदेखि छायांकन सुरु गर्ने तयारीमा रहेको फिल्म ‘आ बाट आमा’ को कलाकार लाइनअप क्रमशः बलियो बन्दै गएको छ। निर्देशक चन्द्र पन्तले यसपटक आमाको माया र सन्तानको भावनात्मक सम्बन्धमा आधारित कथालाई पर्दामा उतार्ने तयारी गरेका छन्।
फिल्ममा विपना थापा आमाको भूमिकामा प्रस्तुत हुने छिन् भने पल शाह उनी अभिनित पात्रको छोराको रूपमा देखिनेछन्। पलले फिल्मको कथा मन परेर काम गर्न राजी भएको बताएका छन्। उनले भने, “मलाई स्क्रिप्ट निकै मन पर्यो। पढ्दा नै इमोसनल बनायो। कथाको गहिरो भावनात्मक पाटोले मन छुयो।”
फिल्मको थिम पोस्टर केही साता अघि सार्वजनिक गरिएको थियो, जसमा आमाको आँखाबाट खसेको आँसु एक सन्तानले पुछिरहेको दृश्य देखाइएको थियो। यस दृश्यले फिल्मको भावनात्मक प्रकृति स्पष्ट पार्छ।
अभिमन्यू निरवीले लेखन गरेको फिल्ममा अन्य कलाकारहरूको चयन प्रक्रिया अझै चलिरहेको निर्माण पक्षले जनाएको छ। छायांकन भदौदेखि सुरु हुने र फिल्म फागुन १५ गते प्रदर्शनमा ल्याइने निर्माण टिमको योजना छ।
मातृत्व र सन्तानबीचको संवेदनशील सम्बन्धमा आधारित ‘आ बाट आमा’ मा अब चर्चित अनुहार पल शाहको समेत सहभागिता भएपछि दर्शकहरूमा फिल्मप्रतिको उत्सुकता थप बढेको देखिन्छ।
प्रतिक्रिया