जनै हराएको बाहुन’ अब ‘जनै हराएको मान्छे’

साझा प्रेस
50
Shares


निर्माण घोषणादेखि नै विवाद र चर्चाको घेरामा परेको फिल्म ‘जनै हराएको बाहुन’ ले अन्ततः आफ्नो नाम परिवर्तन गरेको छ।

हिन्दू धर्मसँग जोडिएका केही व्यक्ति तथा संस्थाबाट आएको आपत्ति र सम्भावित विवादलाई मध्यनजर गर्दै निर्माण पक्षले फिल्मको नयाँ शीर्षक सार्वजनिक गरेको हो।

अब फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ शीर्षकमा आउन लागेको छ। नयाँ नामसँगै फिल्मले आफ्नो पहिलो क्यारेक्टर पोस्टर समेत सार्वजनिक गरेको छ।


नयाँ पोस्टरमा विजय बराल, ‘एपिक नेचुरल स्टार’ को ट्याग

पोस्टरमा अभिनेता विजय बराललाई रातो सर्टमा दुईवटा झोला बोकेर घरबाट सहरतिर निस्कँदै गरेको देखिन्छ। निधारमा रातो टीका र निन्याउरो अनुहारसहितको यो लुकले परिवारसँग छुटिनुको पीडा झल्काउँछ।

निर्माण टिमले विजयलाई “एपिक नेचुरल स्टार“को उपाधि दिएको छ, जुन फिल्मको कथासँग मेल खाने उनका स्वाभाविक अभिनय कौशललाई संकेत गर्छ।


फिल्म २०७८ भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ। विजय बरालसँगै फिल्ममा केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामासुमन थापाको दमदार अभिनय रहनेछ।

फिल्मको निर्देशन हिमाल न्यौपानेले गरेका छन् भने मनिष राउत एसोसिएट निर्देशकको भूमिकामा छन्।

‘जनै हराएको बाहुन’ शीर्षकले धार्मिक आस्थामा ठेस पुगेको भन्दै विवाद बढ्ने देखिएपछि निर्माण टिमले सूझबुझपूर्ण निर्णय लिँदै ‘जनै हराएको मान्छे’ नाम रोजेको हो। अब दर्शकको चासो फिल्मको कथा, प्रस्तुतिका साथसाथै, विजय बरालको गहिरो अभिनयमा केन्द्रित हुँदैछ।