मधेशमा माओवादी केन्द्र संसदीय दलका नेताकाे राजिनामा

साझा प्रेस
50
Shares

नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन्।

साहले सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र बुझाएका हुन्। स्रोतका अनुसार, अध्यक्ष प्रचण्डले नै उनलाई राजीनामा दिन निर्देशन दिएका थिए।

मधेश प्रदेशमा माओवादी केन्द्रका ९ जना सांसद छन्। तीमध्ये बहुमत सांसदले साहलाई दलको नेताबाट हटाउन दबाब दिँदै आएका थिए। यद्यपि, भरतप्रसाद साहले अध्यक्ष प्रचण्ड र उपमहासचिव तथा मधेश प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवको साथ रहेको भन्दै राजीनामा नदिने अडान लिएका थिए।

तर, केही समयअघि पार्टीप्रति आघात पुग्ने किसिमको गतिविधिको उजुरी अध्यक्ष प्रचण्डसम्म पुगेपछि, उनले साहलाई राजीनामा दिन निर्देशन दिएका थिए।

अध्यक्षको सो निर्देशनपछि साहले अन्ततः आफ्नो अडान परित्याग गर्दै राजीनामा दिएको स्रोतले जनाएको छ।