काठमाडौं — नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली समाजलाई पछाडि फर्काउने उद्देश्यले केही शक्तिहरू भ्रमको खेतीमा लागेको आरोप लगाएका छन्। राष्ट्रिय स्वास्थ्यकर्मी नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आइतबार काठमाडौंमा बोल्दै पोखरेलले जनताको बलिदानबाट स्थापित लोकतन्त्र र गणतन्त्रप्रति अविश्वास फैलाउने गतिविधि भइरहेको टिप्पणी गरे।
उनका अनुसार लोकतन्त्रले केही नदिएको, राजतन्त्र नै उपयुक्त हुने जस्ता प्रचारहरू सुनिन थालेका छन्। पोखरेलले यस्ता प्रचारहरूको व्यवहारिक मूल्याङ्कन हुनुपर्ने तर्क गरे।
पञ्चायतकालीन अर्थतन्त्र र वर्तमान आर्थिक अवस्थाको तुलनात्मक मूल्याङ्कन गर्न आग्रह गर्दै, लोकतन्त्रले सामाजिक तथा आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याएको दाबी गरे। उनका अनुसार लोकतन्त्रले दिएको अवसर जनतासम्म प्रभावकारी रूपमा पुर्याउन नसकिएको कमजोरी पनि देखिएको छ।
पोखरेलले वामपन्थी नेतृत्वमा सरकार हुँदा शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा ठूला उपलब्धि हासिल भएको उल्लेख गर्दै एमालेको नेतृत्वमा आर्थिक प्रगति देखिएको बताए। कोभिड महामारीको बेलामा समेत तुलनात्मक रूपमा अर्थतन्त्रले कम क्षति व्यहोरेको तथ्य प्रस्तुत गरे।
हाल एमालेमाथि भइरहेको चौतर्फी आलोचना र घेराबन्दीको पृष्ठभूमि प्रस्ट्याउँदै पोखरेलले राजावादी, माओवादी, रास्वपालगायतका शक्तिहरूबाट सुनियोजित रूपमा आक्रमण भइरहेको बताए। विगतमा एमाले नेतृत्वको समर्थन गरेका व्यक्तिहरू नै अहिले विरोधमा उत्रिएको प्रसंग पनि उनले उल्लेख गरे।
पोखरेलका अनुसार नेपाललाई अन्तर्राष्ट्रिय शक्तिको ‘क्रिडास्थल’ बनाउन खोज्नेहरू पनि एमालेमाथि आक्रामक देखिएका छन्। देशभक्त पार्टीको रूपमा एमालेले यस्तो हस्तक्षेप रोक्दै आएको तर्क गरे।
राज्यको बलियो संरचना आवश्यक रहेको भन्दै उनले कमजोर राज्यबाट देश र जनताको सुरक्षा हुन नसक्ने बताए। एमालेभित्र समेत अराजकतावाद र अवसरवाद मौलाउँदै गएको उल्लेख गर्दै यस्तो प्रवृत्तिलाई पार्टी र देश दुबैका लागि घातक ठहर गरे।
‘मिसन २०८४’लाई पार्टीको आगामी लक्ष्यका रूपमा प्रस्तुत गर्दै पोखरेलले एमालेले अब एकल बहुमतसहितको सरकार बनाउनुपर्ने धारणा राखे। अहिलेको गठबन्धन सरकार सञ्चालनमा रहेका कठिनाइहरूको सन्दर्भ दिँदै एउटै दलको स्पष्ट बहुमत आवश्यक रहेको तर्क गरे।
उनले प्रधानमन्त्री प्रचण्डले एमाले र कांग्रेससँग गरेको छलछामकै कारण दुई ठूला पार्टी मिलेर सरकार बनाउनुपर्ने अवस्था आएको उल्लेख गरे। यसरी बनेको सरकारपछि साना दलहरूको प्रभाव घटेको र आर्थिक क्षेत्रमा सुधार देखिएको बताए।
पोखरेलले स्वास्थ्य क्षेत्रलाई सामाजिक विकासको दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानेका छन्। सीमित स्रोत र जनशक्तिबीच पनि यस क्षेत्रले गरेको योगदान उल्लेखनीय रहेको निष्कर्ष उनले निकाले।
प्रतिक्रिया