पोखरा, गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई कानुनी मान्यता दिने निर्णय गरेपछि प्रदेशभर सार्वजनिक यातायात सेवा ठप्प भएको छ । नयाँ नियमावलीप्रति विरोध जनाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा व्यवसायीहरूले आन्दोलन थालेका हुन् ।
व्यवसायीको आन्दोलनका कारण आज बिहानैदेखि गण्डकी प्रदेशभरका लामो तथा छोटो दूरीका बस, ट्याक्सी, मालबाहक गाडी र अन्य सार्वजनिक यातायातका साधन सञ्चालनमा आएका छैनन् । पोखराका सडकहरू सुनसान छन् ।
गण्डकी प्रदेश सरकारले जेठ ३० गते ‘राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापन नियमावली’ मन्त्रिपरिषदबाट पारित गरी राजपत्रमा प्रकाशित गरेपछि यो विवाद सतहमा आएको हो । नियमावलीले निजी नम्बर प्लेट भएका सवारीसाधनलाई पनि कानुनी प्रक्रिया पुरा गरेर सार्वजनिक सेवा दिन सक्ने व्यवस्था गरेको छ ।
१६ हजार सार्वजनिक सवारी साधन थन्किए
सार्वजनिक यातायात बचाउ संघर्ष समितिका अनुसार गण्डकी प्रदेशभर करिब १६ हजार सार्वजनिक सवारी साधन आन्दोलनमा सहभागी भएका छन् । समितिका प्रवक्ता योगेन्द्र केसीले संघीय कानुनको बर्खिलाप गर्दै निजी नम्बर प्लेटलाई सार्वजनिक सेवासरह मान्यता दिनु निन्दनीय भएको बताए ।
व्यवसायीहरूले १६ गतेदेखि गण्डकी प्रदेशभित्र र १९ गतेदेखि देशभर यातायात सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । सरकारको निर्णयका विरुद्ध व्यवसायीहरू वार्ताको लागि तयार नभएका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव कमलकुमार अधिकारीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ ।
सर्वोच्च अदालतको निर्णयपछि सम्भव भएको नयाँ व्यवस्था कार्यान्वयन गर्ने गण्डकी पहिलो प्रदेश बनेको हो । लामो समयदेखि संघीय तथा बागमती सरकारले पनि यस्तो प्रयास गरे पनि कार्यान्वयन गर्न सकेका थिएनन् ।
सरकारको तर्फबाट संवाद र समन्वयका लागि प्रयास भइरहे पनि आन्दोलन चर्कंदै गएमा सार्वजनिक सेवामा ठूलो असर पर्ने देखिएको छ ।
प्रतिक्रिया