काठमाडौं– यस वर्षको मनसुन अवधि अर्थात् जेठ १८ गतेदेखि असोज १४ गतेसम्म नेपालभर औसतभन्दा बढी वर्षा र तापक्रम हुने प्रक्षेपण गरिएको छ।
जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार पछिल्ला ३० वर्षयताकै बढी वर्षा यस वर्ष हुने अनुमान गरिएको हो। विशेष गरी उच्च हिमाली र उच्च पहाडी क्षेत्रहरूमा ३५ देखि ४५ प्रतिशतसम्म बढी वर्षा हुने सम्भावना रहेको छ भने बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका अधिकांश भागहरूमा पनि औसतभन्दा बढी वर्षा हुने देखिएको छ।
मधेस प्रदेशको उत्तरी क्षेत्र तथा चुरे क्षेत्रमा समेत उच्च वर्षाको सम्भावना रहेको छ। डा. उप्रेतीले औसतभन्दा बढी तापक्रमसहित वर्षा हुने भएकाले हिमाली क्षेत्रमा हिमपहिरो र हिमताल विष्फोटको जोखिम बढेको चेतावनी दिएका छन् । “बढी पानी परेपछि माटो बगाएर ल्याउने, नदी थुन्ने र त्यसले कृत्रिम तालको रूप लिने अवस्था आउन सक्छ,” उनले भने।
यस्तो अवस्था भयावह बाढीको कारण बन्न सक्ने भन्दै डा. उप्रेतीले हिमालबाट बग्ने कर्णाली, कोशी, राप्ती, बबई र नारायणी नदीमा पूर्वसूचना प्रणालीको विकास आवश्यक रहेकोमा जोड दिए। सरकारले पूर्वानुमानलाई आधार बनाएर आवश्यक पूर्वतयारीहरू सुरु गरिसकेको बताइएको छ। जोखिम न्युनिकरणमा मात्र सरकारी निकायको भुमिका होइन, आम नागरिकको सक्रिय सहभागिता पनि उत्तिकै महत्वपूर्ण हुने विज्ञ उप्रेतीले बताएका छन्।
उनका अनुसार मनसुन यदि सामान्य ढंगले सक्रिय भयो भने कृषिमा सकारात्मक प्रभाव पार्नेछ। तर लामो समय वर्षा नहुँदा कृषिमा नकारात्मक असर पर्नसक्ने भन्दै समयमै तयारी गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
प्रतिक्रिया